चण्डेश्वरी साकोसको आयोजनामा सापारु (गाईजात्रा) विशेष खुला बाल चित्रकला प्रतियोगिता सम्पन्न
भक्तपुर, साउन २४ ।
श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि., भनपा-५ चासुखेल शिक्षा उपसमितिको आयोजनामा संस्थाका बाल बचत सदस्यबीच सापारु (गाईजात्रा) विशेष खुला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम संस्थाको सभाकक्षमा एक समारोहबीच सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानावासुले सहकारी संस्था आर्थिक क्रियाकलापसँगै समयानुकूल विविध गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गर्दै, बाल सदस्यको प्रतिभा चित्रमार्फत प्रस्तुत गरी कला र संस्कृतिको पहिचान दिलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। साथै, यस किसिमका कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा सिकेका सीपलाई सामाजिक उत्तरदायित्वसहित व्यवहारमा उतार्न प्रेरणा मिल्ने पनि उहाँको भनाइ थियो।
आयोजक शिक्षा उपसमितिका संयोजक विष्णुप्रसाद कर्माचार्यका अनुसार प्रतियोगितामा जम्मा ३० जना बालबालिकाले सहभागिता जनाएका थिए।
चित्रकला प्रतियोगिताको पुरस्कार वितरण संस्थाको १८औं वार्षिक साधारण सभामा पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।


















