भक्तपुर, साउन १० ।
गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा बजेट निर्माण विषयमा अन्तरक्रिया कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सल्लाहकार रामकृष्ण प्रजापतिले देश अहिले आर्थिक मन्दीको अवस्थामा रहेको उल्लेख गर्दै, सहकारीले विगत वर्षको समीक्षा गर्दै स्रोत, आम्दानी, खर्च र उपयोगको स्पष्ट विश्लेषणसहित यथार्थपरक बजेट निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले सहकारीको कार्यक्रमहरू आदर्श समाज निर्माण गर्ने दिशामा लक्षित हुनु पर्ने बताए।
उनका अनुसार, जबसम्म समाजमा पीडा, लोभ र असमानता रहन्छन्, तबसम्म राम्रो समाजको परिकल्पना सम्भव हुँदैन। त्यसकारण सहकारीहरूले चेतनामूलक र सुधारमुखी कार्यक्रम ल्याउनुपर्ने उनले बताए। उनले संस्थाको सञ्चालनमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अन्य उपसमितिहरूबीच समन्वय र एकता आवश्यक भएको र संस्थाको अहितमा कुनै पनि निर्णय नआउनु पर्ने धारणा राखे।
बजेट तर्जुमा उपसमिति संयोजक तथा कोषाध्यक्ष तुलसी केशरी प्रजापतिले देशको विशाल व्यापार घाटाले परनिर्भरता बढाएको उल्लेख गर्दै, अबको बजेट स्वरोजगार, उद्यमशीलता र आत्मनिर्भरता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताए।
उनले नेपालजस्तो कृषि प्रधान देशमा मल, उन्नत बीउबिजन र आधुनिक कृषि उपकरणको अभाव तथा वैदेशिक रोजगारीतर्फ युवाको आकर्षणका कारण खेतीयोग्य जमिन बाँझिन थालेको अवस्थामा कृषि र युवा लक्षित कार्यक्रम बजेटमा समेटिएको जानकारी दिए।
कार्यक्रममा स्वागत मन्तव्य श्रीप्रसाद प्रजापतिले राखेका थिए भने सञ्चालन सचिव सत्यराम ग्यामरूले गरेका थिए। लेखा समितिका संयोजक हरिकृष्ण प्रजापति, सञ्चालक सदस्यहरू रामकृष्ण लवजु, चम्पा ग्यामरू, तुल्सिराम प्याठ, सिद्धान्त प्रजापति, राजु बजिको, लेखा सदस्य राजन चित्रकार, सीता लक्ष्मी कोजु तथा प्रबन्धक गौतम कुटुवाजूले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।