आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

0
239

आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित
२०८२ असार १२ गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठकले आर्थिक विधेयक २०८२, विनियोजन विधेयकसहित आ.व. २०८२।८३ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित ग¥यो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार ८ गते नगरपालिकाको लागि भक्तपुर नगरपालिकाको रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।
सभामार्फत नगर प्रमुख प्रजापतिले आ.व. २०८२।८३ का लागि भक्तपुर नपाको बजेटमाथि भएको छलफलमा भाग लिई आवश्यक सुझाव, जिज्ञासा र समर्थन गरी सहयोग गर्नुभएकोमा सभासद्हरुलाई धन्यवादज्ञापन गर्नुभयो ।
बजेटमाथि छलफलमा उठेका जिज्ञासाहरुमाथि प्रष्ट पर्दै उपप्रमुख रजनी जोशीले बजेट सफल र पूर्ण कार्यान्वयनको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको, भक्तपुरलाई नमुना नगर बनाउन प्रयासरत रहेको, नगरका घाटहरुको व्यवस्थापनमा नपाले हरेक वर्ष बजेट व्यवस्था गरी काम गर्दै आएको, खेलमैदान निर्माणका चुनौतीहरु आदि विषय सभासमक्ष अवगत गराउनुभयो ।
छलफलमा सभासद् तारादेवी शाक्य, हेरा ख्याजु, ज्ञानबहादुर मानन्धर, सिद्धिराम अवाल, इन्द्रबहादुर प्याठ, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, रामसुन्दर बासी, नारायणप्रसाद त्वानाबासु र पुरुषोत्तम तमखूले कमलविनायक बहुउद्देश्यीय भवन निर्माणको लागि बजेट व्यवस्था गर्नुपर्ने, भूगोल, जनसंख्या र आवश्यकताको आधारमा वडा बजेटको व्यवस्था गर्नुपर्ने, अव्यवस्थित वधशालाहरु व्यवस्थित गर्नुपर्ने, बालसेवक आधारभूत विद्यालय पायक पर्ने ठाउँमा स्थानान्तरणको लागि पहल गर्नुपर्ने, शिक्षक सम्मान कार्यक्रमको बजेट विनियोजन गर्नुपर्ने, शिशुस्याहार केन्द्रहरुलाई मन्टेश्वरीको अवधारणामा सञ्चालन गरिनुपर्ने, सडक बत्ती मर्मतसम्भारको लागि बजेट व्यवस्था गर्नुपर्ने, योजनाहरुको स्पष्ट जानकारी नगरबासीहरुलाई दिनुपर्ने, मंगलतीर्थ घाटस्थित दुब्येंकेगु ताहा फल्चा पुनःनिर्माण तथा घाट व्यवस्थापन गर्नुपर्ने, सहकारी समस्या व्यवस्थापन गर्न कार्ययोजनासहित बजेट व्यवस्था गर्नुपर्ने, भूकम्पबाट जीर्ण रहेका भैरवको द्योछेँ र भद्रकाली द्योछेँ पुनःनिर्माणमा जोड दिनुपर्नेलगायतका धारणा प्रस्तुत गर्नुभयो ।

आजको बैठकले महालेखापरीक्षकको कार्यालयबाट पेश भएको आ.व. २०७९/८० र २०८०/८१ को भक्तपुर नगरपालिकाको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको कर्मचारीहरुको उपदानसम्बन्धी उल्लेखित बेरुजुसम्बन्धमा लेखा समितिबाट पेश भएको बेरुजु समपरीक्षणका लागि पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्‍यो ।
त्यसैगरी बैठकमा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विदेशी शहरसँग भगिनी सम्बन्धका लागि सिचाङ जचमैत्री संघ र तिब्बतस्थित नेपाली महावाणिज्यदुतावासको संयुक्त आयोजनामा Share.Build.Create Together भन्ने मूल नारासहित नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बन) र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको २०८२ असार १० (जुन २४, २०२५) गते तिब्बतको ल्हासा शहरमा सम्पन्न बैठक र चीन भ्रमणको सिकाईबारे अनुभव राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here