भक्तपुर, जेठ २२ ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा आज चाँगुनारायण नपा वडा नं. ६ स्थित खानेपानी मुहान पोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानीका मुहानहरु सुक्ने क्रम बढिरहँदा खानेपानी आपूर्तिमा समस्या भइरहेको बताउँदै मानवीय क्रियाकलापले गर्दा पनि पानीका स्रोत र मुहानहरु फोहोर हुने र सुक्ने गरेको बताउनुभयो ।

वनविनासले पनि खानेपानीका मुहानहरुमा क्षति पु¥याइरहेको बताउँदै उहाँले मुहान पोखरीलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो ।
खानेपानीको नयाँ नयाँ स्रोतहरु पनि खोजी हुनुपर्ने र पानीको स्रोतलाई संरक्षण गर्नु सबैको दायित्व हो, प्रमख प्रजापतिले भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुरको खानेपानी मुहान पोखरी भक्तपुर र चाँगुनारायण नपाबीच आपसी समन्वय र सहकार्य संरक्षण गर्ने कार्य हुँदै आएको बताउँदै खानेपानीको स्रोतमा मानवीय गतिविधिबाट हुने प्रदूषण रोक्न सम्बन्धित निकायबाट पहल हुनुपर्ने बताउनुभयो ।

चाँगुनारायण नपा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर तामाङले मुहानपोखरी संरक्षण र सरसफाइलाई चाँगुनारायण नपाले पनि प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै मुहानमा विभिन्न अवाञ्चित गतिविधि रोक्ने विषयमा पहलहरु भइरहेको र मुहान संरक्षणको लागि तारबार लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी संस्था लि. भक्तपुरका प्रमुख अनिलकुमार त्रिखत्रीले खानेपानी मुहान संरक्षण गर्ने अभियानमा नगरबासीहरुको सहभागिता प्रशंसनीय भएको बताउनुभयो । कार्यक्रममा वातावरण समितिका सदस्य मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो ।

सरसफाइ कार्यक्रममा भक्तपुर नपा र चाँगुनारायण नपाका जनप्रतिनिधि, कर्मचारी, स्काउट, नेपाल प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।