भक्तपुर, बैशाख २० । प्रगति पुस्तकालयको आयोजनामा ३ महिने आधारभूत चित्रकला तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार एक कार्यक्रमविच सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले कलाकार बन्न सजिलो नहुने तर निरन्तर मेहनत गरेको खण्डमा अवश्य सफलता हासिल गर्न सकिने बताउनुभयो ।
वर्तमान समयमा बालबालिकाहरु मोबाइलमा बढी संलग्न हुदा मानसिक तथा शारीरिक समस्या आउने गरेकोले पारिवारिक वातावरणमा बालबालिकालाई हुर्काउनुपर्ने र बाहिरी सामाजिक वातावरणमा पनि घुलमिल गराउनुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
अभिभावकहरुले बालबालिकाले तयार गरेको चित्र डिजिटलाइज गरि फाइलिङ गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।
नेमकिपा प्रास सुर्यमढी समितिका मिलन गणेजुले नेमकिपाको घोषणापत्र बमोजिम विभिन्न तालिम संचालन गर्दै आइरहेको चर्चा गर्नुहुदै भक्तपुरबाट प्रतिभावान कलाकारहरु जन्मिनु भक्तपुरको लागि गौरवको विषय रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरु निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक विकास तमखुले चित्रकला तालिममा सिकेको कुरालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । अभिभावकहरुले पनि बालबालिकालाई चित्रलेखनमा हौसला दिनुपर्ने र दैनिक रुपमा समय छुट्याई वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

प्रगति पुस्तकालयका अध्यक्ष रविन्द्र प्रसाद कुसीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट रागिनी प्रजापति र शुभम पन्च तथा अभिभावकको तर्फबाट सुमित्रा त्यात, पुस्तकालय समितिका सदस्य प्रविश प्रजापति र रुवन प्रजापतिले पनि बोल्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ज्याख्वले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।



















