भक्तपुर, चैत्र २० ।
‘मर्यादित सहकारी ः समुन्नत समाज’ नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर नगर सहकारी समन्वय उपसमिति र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयुक्त आयोजनामा भक्तपुर नगरपालिकामा आज प्रभातफेरि कार्यक्रम सम्पन्न भयो ।

भक्तपुरको टौमढीमा आयोजित सहकारी दिवस कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै सहकारी क्षेत्रमा पनि व्यवस्थित ढंगले अगाडि बढ्ने प्रयास गरिरहेको बताउनुभयो ।
सहकारी संस्थाको सिद्धान्त र मूल्य मान्यतालाई हात्तीको देखाउने दाँत बनाउन नहुने बताउँदै उहाँले देश युवाविहीन अवस्थामा पुग्नुमा शासक दल मुख्य रुपमा दोषी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थामा संकट नआओस् भन्ने उद्देश्यले नगरपालिकाले सहकारी अनुगमन समितिलाई सक्रिय बनाइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर भ्रष्टाचारविरोधी आन्दोलन भएको ठाउँ भएको हुँदा सहकारी सञ्चालकहरुले भक्तपुरको इतिहासलाई भुल्न नहुने विचार प्रमुख प्रजापतिले राख्नुभयो ।
उहाँले सहकारी संस्थाहरु आर्थिक लेनदेनमा मात्रै सीमित हुन नहुने धारणा राख्दै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने र संस्थालाई आत्मनिर्भर ढंगले अगाडि बढाउनुपर्नेतर्फ जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी संस्थाहरु मर्यादित र अनुशासित बनाउन चुनौतीपूर्ण हुँदै गएको बताउँदै राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्ने विषय आपत्तिजनक रहेको बताउनुभयो ।
समुदायमा आधारित सहकारी संस्थालाई दुःख दिन पाउँदैन भन्ने आवाज जिल्ला संघले उठाउँदै आएको बताउँदै उहाँले बद्मास सहकारीलाई घरघरानाबाट बचत फिर्ता गराउनुपर्ने माग संघले उठाउँदै आएको प्रष्ट पार्नुभयो ।

संघका सचिव तथा नगर समन्वय उपसमितिका संयोजक जगन्नाथ प्रजापतिले सहकारी दिवस मनाउनुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुरका चारवटै नगरपालिकामा आज एकैसाथ सहकारी दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको बताउनुभयो । सहकारी संस्थामा देखिएको संकट निराकरणको लागि जिल्ला बचतले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उहाँले भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाहरुले समाज उत्थानको लागि सामाजिक गतिविधि अगाडि बढाउँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रम जिल्ला सहकारी संघ लि. भक्तपुर, जिल्ला कृषि सहकारी संघ लि. र जिल्ला बहुउद्देश्ीय सहकारी संघ लि. भक्तपुरको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
प्रभातफेरि कार्यक्रम भनपा वडा नं. १ दुधपाटी र कमलविनायक गरी दुई ठाउँबाट बाजागाजा र ¥याली सहित भक्तपुरको टौमढीमा पुगी सभामा परिणत भएको थियो भने उक्त कार्यक्रममा ६७ वटा सहकारी संस्थाहरुको उत्साहजनक सहभागिता रहेको थियो । सहकारी दिवसको अवसरमै भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी घोषणा भएको छ ।

कार्यक्रममा लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन जतिले पनि बोल्नुभएको थियो ।