भक्तपुर, चैत २ ।
भक्तपुर नगरपालिकाको आयोजनामा चैत्र २३, २४, र २५ गते अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । प्रतियोगिता संचालनको लागि १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको खेलकुद समितिका संयोजक एवं वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले बताउनुभएको छ ।
जिम्नाष्टिक प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर गर्ल्स को बिधा रहेको छ । प्रतियोगितामा सहभागी बन्न इच्छुक महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले रु ५,००० (पाँच हजार) सहित मिति २०८१ चैत्र १५ गतेभित्र अनिवार्य रूपमा टिम दर्ता गरिसक्नुपर्ने भनिएको छ ।
प्रतियोगिताका खेलहरू नेपाल जिम्नास्टिक्स संघको नियमको र भक्तपुर जिल्ला जिम्नाष्टिक संघको प्राविधिक सहयोगमा हुने बताइएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोहुने नगरपालिकालाई शिल्ड, पदक र प्रमाणपत्रका साथै विजयी खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिने र जिम्नाष्टिक प्रतियोगिता सहभागी हुने सम्पूर्ण खेलाडीहरूलाई खेलको दौरान कुनै किसिमको चोटपटक लागेमा, रु. १,००,००० (एक लाख) सम्मको खेलाडी दुर्घटना/औषधि उपचारको बीमाको व्यवस्था गरिएको समेत आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू भक्तपुर–२ स्थित शहीद स्मृति खेल मैदान वा भक्तपुर नगरपालिकाका कभर्ड हलहरूमा सञ्चालन हुने समेत बताइएको छ ।
भक्तपुर नपाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।


















