श्री ब्रम्हायणी आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव सम्पन्न

0
330


भक्तपुर, फागुन १२ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित श्री ब्रम्हायणी आधारभूत विद्यालयको ३३ औं वार्षिकोत्सव, शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भयो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले समाजको निम्ति काम गर्ने भावना भएका विद्यार्थीहरुमा देशको लागि केही गर्छु भन्ने परोपकारी भावनाको विकास हुने बताउँदै विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्नता बढाउनुपर्ने बताउनुभयो ।


भक्तपुरका सामुदायिक विद्यालयहरु समाजका अगुवाहरुको संयुक्त प्रयासबाट स्थापना भएको विद्यालय हो भन्दै उहाँले अग्रजले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेकै कारण आज भक्तपुरले शैक्षिक क्षेत्रमा फड्को मारेको बताउनुभयो ।
संविधानमा बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने उल्लेख भए तापनि त्यसको कार्यान्वयन भने हुन नसकेको बताउँदै उहाँले शिक्षामा अगाडि बढेको देश विकासमा पनि अगाडि बढ्ने धारणा राख्नुभयो ।
शिक्षा र स्वास्थ्य जस्तो महत्वपूर्ण विषयको पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्ने नीति अवलम्बन गरी सामुदायिक र निजी विद्यालयलाई समान व्यवहार र सहयोग गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुरको लिबाली क्षेत्र अहिले शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको र हाल यहाँ सामुदायिक र निजी गरी करिब १३ वटा विद्यालयहरु सञ्चालनमा रहेको बताउँदै विद्यार्थीहरुलाई दुव्र्यसन र कुलतबाट टाढा राखिनुपर्ने बताउनुभयो ।
श्री ब्रम्हायणी आधारभूत विद्यालयका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यालय भवन निर्माणले यहाँको शैक्षिक क्रियाकलापमा सकारात्मक प्रभाव परेको बताउँदै विद्यालयप्रति विश्वास गरी आफ्ना बालबालिकाहरुलाई भर्ना गर्ने अभिभावकप्रति आभार प्रकट गर्नुभयो । विद्यार्थी नभएर नेपालका करिब ५०० कलेजहरु बन्द हुने अवस्था पुगेको समयमा भक्तपुर नगरपालिकामा भने विद्यार्थी संख्या सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।
बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यालय प्रगतिको कामना गर्दै विद्यार्थीहरुले अरुसँग तुलना नगरी नियमत विद्यालय पठाउन, सरसफाइमा ध्यान दिने, पोषण युक्त खाना खुवाउनमा जोड दिनुपर्ने बताउनुभयो ।
विद्यालय प्रअ तीर्थलक्ष्मी धन्छाले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण विधिहरु प्रयोग गरी विद्यार्थीहरुको सिकाइ उपलब्धी वृद्धि गर्ने र दैनिक पाठयोजनालाई लागू गर्ने प्रयास गर्दै आइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजू र विद्यार्थी प्रतिनिधिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो भनो । प्रमुख अतिथि प्रजापतिले विद्यालयमा लामो समय कार्यरत शिक्षकहरुलाई दीर्घ सेवा सम्मान र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको बीच बीचमा विद्यार्थीहरुले सांस्कृतिक नाचहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here