भक्तपुर, माघ १९ ।
प्रगति सामुदायिक सिकाइ केन्द्रको आठौँ वार्षिक साधारण सभा तथा नेपाल मजदुर किसान पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा शनिबार आँखा शिविर र सामान्य स्वास्थ्य परिक्षण कार्यक्रम सुर्यमढी स्थित वाकुपति नारायण परिसरमा शनिबार सम्पन्न भयो ।

प्रगति सामुदायिक सिकाइ केन्द्र र नेपाल क्रान्तिकारी महिला संघ ९ वडा समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्वास्थ्य परीक्षण नियमित रुपमा गर्नुपर्ने बताउनुहुदैं रोगको समयमै उपचार गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाले नगरवासीको हितलाई मध्यनजर गर्दै आँखा सम्बन्धि जाँच तथा परीक्षणको सहजताको लागि ख्वप अस्पतालको भवनमा तिलगंगाा आँखा अस्पताल स्थापना गरेको बताउनुभयो ।
एक फरक प्रसंगमा उहाँले नेपालको तराई भेगमा शितलहरको समस्या देखापरेको र अझै पनि स्वास्थ्य समस्या देखा पर्दा तराइ क्षेत्रका समुदायहरु झारपुकमा विश्वास गर्ने गरेको समेत बताउनुभयो ।

नेमकिपा ९ वडा प्रारम्भिक समितिका अध्यक्ष कुष्णभक्त लवजुले नेमकिपा स्थापना भएको ५१ वर्ष पुगेको चर्चा गर्नुहुदैं नेमकिपाले मजदुर, किसानको हक, हित र देशको सार्वभौमसत्ता रक्षाका लागि आवाज बुलन्द गर्दै आइरहेको बताउनुभयो । पार्टीले राजनैनिक रुपमा चेतना दिदै आइरहेको बताउनुहुदैं नेमकिपाका जनप्रतिनिधिहरु निर्वाचित भइसकेका ठाउँमा शिक्षा, स्वास्थ्यलाई विशेष जोड दिदै कार्यहरु अगाडी बढिरहेको चर्चा गर्नुभयो ।

त्यस्तै नगर शिक्षा शाखाका प्रतिनिधि राजेन्द्र दुमरुले सिकाइ केन्द्रले समुदायमा रहेका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, सिपमूलक तालिम दिनुपर्ने बताउनुहुर्दै भक्तपुर नगरमा रहेका ३ वटा सिकाइ केन्द्रहरुमध्ये २ वटा सिकाइ केन्द्रहरु त्रिवेणी र आस्था सक्रिय नभएको बताउनुभयो ।

कार्यक्रममा आँखा रोग विशेषज्ञ डा.कृजन सुवालले आँखामा समस्या देखापर्दा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा जाँच गर्नुपर्ने बताउनुहुदै वर्तमान समयमा आँखामा मोतियाविन्दु हुने बिरामीको समस्या बढिरहेकोले सुगर र प्रेशर भएका विरामीले प्रत्येक ६/६ महिनामा आँखाको परीक्षण गर्नुपर्ने जोड दिनुभयो ।

प्रगति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र प्रसाद कुसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सिकाइ केन्द्रले गरिदै आएको गतिविधि सम्बन्धमा प्रगति प्रतिवेदन पेश गरिएको थियो भने नेक्रामसंघका छोरीमैया सुजखु प्रजापति, कृष्णश्वरी कर्माचार्य र सबिना प्रजापतिले पनि बोल्नुभएको थियो ।

प्राविधिक सहयोग ख्वप तिलगंगा आँखा अस्पताल रहेको उक्त आँखा शिविरमा १३६ जनाले स्वास्थ्य जाँच गरेका थिए ।




















