भक्तपुर, १४ माघ । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनमा नयाँ कृषि उपसमिति, शिक्षा संयोजक र महिला उपसमितिका सदस्यको सपथ ग्रहण कार्यक्रम सहकारीको सभाकक्षमा एक समारोहबीच सोमबार सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले नेतृत्व भनेको पद होइन काम हो भन्नुहुदैं दिएको पद अनुसार जिम्मेवारी बहन गरी सक्रिय भई सदस्यहरुको सेवा गर्न सकून् भनि शुभकामना तथा बधाई दिनु भयो । उहाँले सहकारी अध्यादेशले सहकारीकर्मीहरुको हातखुट्टा बाँध्ने काम भएको बताउँदै यो समयमा सदस्यहरुलाई सहज र सरल तरिकाले सेवासुविधा हुने गरी संचालक र कर्मचारीहरुले काम गरे सहकारी प्रति बिश्वस्त हुने बताउनु भयो । उहाँले अध्यादेश आउँदैमा तर्सिनु नपर्ने बरु ईमान्दारीपूर्वक सदस्यहरुको सेवा गर्नुपर्र्ने बताउनु भयो । उहाँले शिक्षा उपसमिति भनेको सहकारीको प्रवक्ताको रुपमा काम गर्नु पर्ने भएकोले सहकारी अध्यादेश ऐन, कानून र कार्यविधिहरुको जानकारी हुनुपर्ने र सदस्यहरुलाई बताउन सक्ने गरी अध्ययन गर्नुपर्ने बताउनु भयो । उहाँले संकतको बेला धैर्य गर्ने बताउँदै सहकारी प्रति सरकार र बैंक माफियाहरुको कुदृष्टिका कारण समस्या भएको बताउँनु भयो ।
कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापतिले सहकारीले समय समयमा सहकारी अध्ययन भ्रमण तथा सदस्यहरुलाई तालिमको ब्यवस्था गर्नुपर्नेमा जोड दिदैं सहकारीका कर्मचारीका साथै पदाधिकारीहरु पनि सक्रिय हुनु पर्ने बताउनु भयो ।
कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले सहकारी अध्यादेशले सहकारीमा परेको समस्याको जानकारी दिनु भयो । उपाध्यक्ष एवं कृषि संयोजक श्री प्रसाद प्रजापति, उद्घोषक सचिव सत्यराम ज्ञामरु, कोषाध्यक्ष एवं शिक्षा संयोजक तुल्सी केशरी प्रजापति, लेखा सुपरिवेक्षण समिति संयोजक हरिकृष्ण प्रजापति, सदस्य रामकृष्ण लावजु, राजु सिं बजिको, चम्पा ज्ञामरु, तुल्सीराम प्याठ, रञ्जन प्रसाद कुटुवाजू र ज्ञान सागर बखाद्योले पनि बोल्नु भएको थियो । स्वागत मन्तव्य प्रबन्धक गौतम कुटुवाजूले दिनु भयो । साथै अध्यक्षले नयाँ पदाधिकारीहरुलाई सपथ ग्रहण गराउँनु भएको थियो ।


















