भक्तपुर, माघ ११ । भक्तपुर लिवाली स्थित बाल विकास सेकेण्डरी स्कुलको ३७ औ वार्षिकोत्सबको अवसरमा उपत्यकाव्यापी (काभ्रेसहित) अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता शुक्रबार सम्पन्न भयो ।

एक समारोहबिच विद्यालयको सभाहलमा उक्त प्रतियोगिता उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले नेपाल सरकारले शिक्षा क्षेत्रमा आफ्नो दायित्व पूरा नगर्दा शिक्षा क्षेत्रमा माफियाहरुको बोलवाला बढिरहेको बताउनुभयो । देशको शिक्षा क्षेत्र बिस्तारै व्यापारी र दलालको हातमा पुग्दा सर्वसाधारण जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित हुनुपरेको अवस्थामा भक्तपुरले आशाको दियो देखाइरहेको बताउनुभयो।

उहाँले भक्तपुरका जनता तथा अग्रज नेताहरूको असल सुझबुझका कारण आज भक्तपुर शिक्षा, स्वास्थ्य पर्यटन तथा सम्पदा संरक्षणको नमुना बनेको बताउनुहुँदै देशभरमा भक्तपुरमा जस्तै भावना जागृत हुन सके देश अघि बढ्ने धारणा समेत राख्नुभयो ।
उक्त अवसरमा इसानका उपाध्यक्ष तथा महालक्ष्मी सेकेण्डरी स्कुल काठमाण्डौका संस्थापक प्रिन्सिपल सनकमान महर्जन, विद्या सागर स्कुल बनेपाका प्रिन्सिपल उपेन्द्र शर्मा, वेदान्त एकेडेमीका दिपक बास्कोटा र राजिव बराइलीले कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
प्रतियोगितामा जम्मा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ५६ वटा विद्यालयका जम्मा २०२ जना विद्यार्थीहरुको सहभागी रहेको थियो । प्रतियोगितामा कक्षा ४–६ का विद्यार्थीहरुको नेपाली र अङ्ग्रेजी हस्तलेखन साथै कक्षा ७–९ का विद्यार्थीहरुको नेपाली र अङ्ग्रेजी हस्तलेखन गरेर जम्मा ४ वटा विधामा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिताको नतिजा माघ १३ गते विद्याल्यको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिने र विजेता विद्यार्थीहरूलाई यही माघ १५ गते विद्यालयको ३७ औं वार्षिकोत्सवको अवसरमा पुरस्कृत गरिने विद्यालय स्रोतले जनाएको छ ।



















