भक्तपुर, माघ ११ । चाँगुनारायण नगरपालिका वडा न ८ सुडाल स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयमा एन.सी.सी. ५० औं व्याचमा विद्यालयबाट सहभागी भएका ३४ जना क्याडेटहरुको आज विद्यालयको तर्फबाट विद्यालय प्राङ्गणमा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलालले एनसीसी तालिमबाट सिकेका ईमान्दारीता र अनुशासनका पाठहरु जीवनमा प्रयोग गर्न सके सफलता मिल्ने कुरा राख्दै एनसीसीमा विद्यालयलाई समेट्न महत्त्वपूर्ण भुमिका निभाउनुभएका चाँनपा-८ का वडाध्यक्ष जनक खत्री, एनसीसी प्रशिक्षकद्वय जयराम खत्री तथा सुमन कार्की, विद्यालयका एनसीसी समन्वय शिक्षक राजन लिवी सम्पूर्णमा हार्दिक कृतज्ञतासहित धन्यबाद ज्ञापन गर्नुभयो ।

एनसीसी प्रशिक्षक जयराम खत्रीले तालिमबाट सिकेका ज्ञान र सीप देशलाई संकट परेका बेला प्रयोग गर्नुपर्ने बताउँदै बिदेश मोह त्यागेर देशमै गरीखाने अवसर यो तालिमले दिने विचार पनि राख्नुभयो । साथै उहाँले उक्त तालिमले सहभागी क्याडेटहरूको शारीरिक तथा मानसिक क्षमता अभिबृद्धि भई राष्ट्रको लागि अनुशासित एवं कुशल नेतृत्व गर्न सक्ने नागरिक तयार हुने धारणा व्यक्त गर्नुभएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तजलेले एनसीसी तालिम विद्यालयको महत्त्वपूर्ण उपलब्धिमा पर्ने कुरा राख्दै तालिममा थोरै लगानीमा धेरै उपलब्धि पाएको र यसमा मुख्यतः विद्यार्थीको लगनशीलता, तदारुकता र मेहनतले भुमिका खेलेको तर्क राख्नुभयो । साथै एनसीसी तालिमका क्रममा विद्यालयको व्यवस्थापनतर्फ देखिएका कमीकमजोरीकाबारे समीक्षा हुने कुरा पनि उहाँले राख्नुभयो ।
एन.सी.सी. समन्वय शिक्षक राजन लिवीले २१ दिने बन्द सत्रमा भएगरेका सबै घटनाक्रमहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गर्दै उपलब्धि तथा कमीकमजोरीहरुको चर्चा गर्नुभयो ।
तालिममा सहभागी विद्यार्थीको तर्फबाट किरण दाहाल, अनु दुलाल र सुदिना दुलालले तालिमको अनुभव सुनाउँदै राष्ट्रमा विपद् परेकाबेला आफूहरुले राष्ट्र सेवा गर्ने प्रण गर्दै तालिमबाट सिकेका ईमान्दारीता, अनुशासन, सामुहिक भावना र समयको महत्त्व सम्बन्धि खुराकहरुले आफूहरुलाई मार्गप्रशस्त गरेको विचार राख्नुभयो ।
कार्यक्रममा शिक्षक रामहरी अधिकारीले पनि बोल्नुभएको थियो भने केही सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत भएको थियो ।
गत असार महिनाबाट सुरु भएको एन.सी.सी. तालिम अन्तर्गत पुषको ७-२७ गतेसम्म बर्दिबासमा रहेको श्री राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालयमा बन्द सत्र चलेको थियो ।
सो क्रममा छात्र भलिबलमा तृतीय हुनु, १०८ जना क्याडेटहरुको नेतृत्वमा यस विद्यालयका रोहित श्रेष्ठ छानिनु, आधीभन्दा बढी विद्यार्थीहरुले एन.सी.सी. अन्तर्गतका विभिन्न दर्जा पाउनु, सहभागी १६ वटा विद्यालयहरुमध्ये विद्यालय छैठौं स्थानमा आउनु हाम्रा उपलब्धिका रुपमा रहेका छन् ।
समारोहमा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलाल, सहायक प्रधानाध्यापक प्रकाश तजले तथा एनसीसी प्रशिक्षक जयराम खत्रीले संयुक्त रुपमा टीका, खादा र प्रमाणपत्रले दीक्षित भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।



















