सूर्यविनायक–धुलिखेल सडक आयोजनाको काम रात्रीकालीन समयमा गर्नुपर्ने

0
255


भक्तपुर, माघ ८ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्ग खण्डको सूर्यविनायक—धुलिखेल सडक आयोजनाअन्तर्गत भक्तपुरको साँगा सडक खण्डको निर्माण कार्य गर्दा यातायात अवरुद्ध गर्नु उचित नहुने बताउँदै आयोजनाको काम
रात्रीकालीन समयमा गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुुभयो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको संयोजकत्वमा स्थानीय तहका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, सम्बन्धित आयोजना तथा सरोकारवालाहरुसँग बसेको बैठकमा बोल्दै उहाँले राजमार्गको सडक खण्ड दिउँसो अवरुद्ध हुँदा सर्वसाधारण जनतामा धेरै समस्या हुने बताउनुभयो ।
उहाँले जनतालाई समस्या हुने गरी आयोजनाको काम गर्नु उचित नहुने धारणा राख्दै वैकल्पिक सडकबारे स्थलगत अध्ययन गरी मात्र निर्णय गर्नुपर्ने र सडक मर्मतको जिम्मा पनि सडक विभागलाई नै दिनुपर्ने बताउनुभयो । प्रमुख प्रजापतिले राजमार्ग खण्ड वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने विषयमा पुनः छलफलको आवश्यकता रहेको सो बताउनुभयो ।
बैठकमा सूर्यविनायक नपाका प्रमुख बासुदेव थापाले आयोजना सुस्त गतिमा कार्य भइरहेकोमा असन्तुष्टी व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकोले समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनतालाई मार्का पर्नेगरी स्थलगत अवालोकन गरेर मात्र आंशिक रुपमा बाटो बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
धुलिखेल नपाका प्रमुख अशोक कुमार ब्यान्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्ने गरी बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने, सडक मर्मत र वैकल्पिक बाटोमा गर्नुपर्ने आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नपाका प्रमुख जीवन खत्रीले रात्रीकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुुभयो । सोही क्रममा सरोकारावालाहरुबीच आयोजनाको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थिति हेरेर मात्र आवश्यक निर्णयमा पुग्न सकिने सहमति भयो । आयोजनाले दैनिक ४–५ घण्टा बाटो बन्द गर्नु पर्ने प्रस्ताव वैठकमा राखेको थियो ।
बैठकमा भक्तपुर, सूर्यविनायक, चाँगुनारायण, मध्यपुर नपाका प्रमुख प्रशासकीय अधिकृतहरु समेतको उपस्थिति थियो ।
२०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्ने गरी सूर्यविनायक—धुलिखेल सडक आयोजनाले ठेक्का सम्झौता गरेको थियो । सूर्यविनायक धुलिखेल सडक खण्ड ७.५ कि.मी. रहेको छ भने उक्त आयोजनाको कूल बजेट ३ अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएको थियो । सो खण्डमा पर्ने जगाती पुल ५७ करोडमा ठेक्का सम्झौता भएको पनि सो अवसरमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here