सबैलाई उठाउने भावना चाहियो

0
203

चेत गुमाएका ठूला नेता होइन
चेतनशील साना जनता चाहियो
अधिकार भएका अधिकारी होइन
कर्तव्यनिष्ठ कर्मचारी चाहियो ।

धन भएका ठूला दानवीर होइन
मन भएका साना सेवक चाहियो
चर्का गफ दिने मुखहरू होइन
सुस्तरी काम गर्ने हातहरू चाहियो ।

ठूलाठूला पार्टी कार्यालय होइन
ठूला अस्पताल, दबाइखाना चाहियो
अनावश्यक भवन र टावर होइन
उत्पादन गर्ने कारखाना चाहियो ।

बेकारमा दिन काट्ने अखडा होइन
व्यस्तता राख्ने रोजगारी चाहियो
मनपरी गर्ने कुनै ‘तन्त्र’ होइन
सुशासन दिलाउने ‘लोकतन्त्र’ चाहियो ।

केहीलाई पोस्ने तारतम्य होइन
सबैलाई उठाउने भावना चाहियो ।
सधैंको निराशा र खिन्नता होइन
अब त खुसी र भरोसा चाहियो ।

चुपचाप सहने मौनता होइन
असन्तुष्टि पोख्ने साहस नि’ चाहियो
यतिसम्म ‘ज्ञानी’ हुनु राम्रो होइन
अब अलि चकै चेतावनी चाहियो ।

इन्द्रकुमार श्रेष्ठ, हाल: सिर्जनानगर, भक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here