भक्तपुर, असोज १९ । आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारीता भन्ने मुल नाराका साथ जगाती स्थित सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजभाइ माकले विजया दशमी तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना दिनुहुदै यहि कार्तिक २४ गते शनिबार सुकुन्दा साकोसको साधारण सभा हुने र सभामा भाग लिन सदस्यहरुलाई समेत आग्रह गर्नुभयो ।

त्यस्तै संस्थाका पुर्व अध्यक्ष सानुकाजी त्वानाबासुले सेयर सदस्यहरुलाई यस आर्थिक वर्षमा १२ प्रतिशत लाभांश रकम वितरण दिदै आइरहेको र असोज १८ गतेदेखी २३ गतेसम्म लाभांश रकम वितरण हुने जानकारी दिनुभयो ।

सल्लाहकार नाति कवांले शुभकामना मन्तव्य सहित मानव विकास क्रमको चर्चा गर्नुहुदै सहकारीबाट ऋण लिइसकेपछि सदस्यहरु व्यावसायिक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो भने अर्का सल्लाहकार विष्णुभक्त मारिखुले संस्थाको आगामी दिनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै, सल्लाहकार आशकाजी त्वानाबासुले वर्तमान समयमा मानिसहरुविच एकापसमा विश्वासको अभाव रहेको बताउनुहुदै सहकारीको विकासको लागि सबैजना संगठित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव सुर्यराम त्वानाबासुले सहकारीमा निजि स्वार्थले गर्दा देशैभर सदस्यहरुको बचत अपचल र हिनामिना हुने भएकोले जनताहरुमा सहकारीप्रती वितृष्णा बढेको र आतंकित बनेको बताउनुहुदैं उहाँले सहकारीको सिद्धान्त अनुसार सहकारी चल्नुपर्ने बताउनुभयो भने संस्थाका कोषाध्यक्ष श्रीकृष्ण गोसाईले आर्थिक कारोबार तथा प्रगति प्रतिवेदनको बारेमा जानकारी दिनुभएको थियो ।

संस्थाका व्यवस्थापक सानुकाजी चिकंबजारले सहकारी संस्थाको विकासको लागि निति नियमको परिधिमा रही सबैको साथ र सहयोग आवश्यक रहेको चर्चा गर्नुुहुदै कुनै पनि सहकारीमा सदस्य बन्नु अगाडि त्यस संस्थाका संचालक समितिमा आवद्ध सदस्यहरुको जानकारी लिनुपर्ने बताउनुभयो ।

उहाँले साधारण सभामा पैसा लिने मात्र नभई सहकारीको आर्थिक कारोबार पनि जानकारी लिनुपर्ने र प्रतिवेदन पनि अध्ययन गर्नुपर्ने बताउनुभयो ।
शुभकामना कार्यक्रममा उपाध्यक्ष केशव कवां, महिला उप समितिका संयोजक चित्राकुमारी किसी र शिक्षा समितिका संयोजक निर्जला प्रजापतिले पनि बोल्नुभएको थियो ।


















