भक्तपुर, भदौ १ । भक्तपुर नगरपालिका वडा न ७ गोमारी स्थित त:खाछे गणेश बाजा खल:को आयोजनामा धाँ बाजा प्रशिक्षण लोकार्पण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पुर्खाले ठूलो आँट र साहस गरेर त्यतिबेलाका शासकका सामु नझुकी पुस्तान्तरण गर्दै हाम्रा मौलिक भाषा, कला र बाजागाजा यहाँसम्म ल्याइपुर्याएको स्मरण गर्नुहुदै उहाँले यसलाई निरन्तरता दिने कार्य युवापुस्ताको जिम्मेवारी भएको बताउनुभयो ।
आफुसँग भएको सीपलाई उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै उहाँले भक्तपुरको पहिचान बोकेको मौलिक बाजागाजाहरुलाई व्यवसायिक बनाउने सोचअनुरुप विदेशीलाई पनि प्रशिक्षण दिने वातावरण बनाउन नगरपालिका प्रयत्नशील रहेको जानकारी गराउनुभयो ।
आयोजक समितिको सल्लाहकारको तर्फबाट रमेश प्रधानले प्रशिक्षार्थीहरुलाई सिकेको सीपलाई निरन्तरता दिन सुझाव दिँदै आवश्यक राय सुझाव दिन हरपल तयार रहेको बताउनुभयो ।
उक्त प्रशिक्षणमा सहभागी २० जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि कवांले दीक्षित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै धाँ बाजा प्रशिक्षणका लागि आर्थिक, भौतिक सहयोग गर्नुहुने महानुभावहरुलाई सम्मान पनि गरिएको थियो ।
आयोजक समितिका अध्यक्ष प्रकाश तजलेले सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समितिका सचिव एवम् धाँ बाजा प्रशिक्षण कार्यक्रमका संयोजक नारायणप्रसाद मचामसीले पनि बोल्नुभएको थियो ।


















