काठमाडौं, श्रावण १६ ।
डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा प्रदान गरिने डा.डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०८० वितरण समारोह यस पुस्तकालय विकास समितिका अध्यक्षज्यूको सभापतित्व, सम्माननीय राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यता र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो ।
डा.डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार एवं समाजसेवी भैरव रिसाललाई प्रदान गरिनुका साथै अन्तर्राष्ट्रिय पुरस्कार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई प्रदान गरियो । राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने भैरव रिसाललाई खादा, माला, प्रमाण पत्र र नगद रु १ लाख प्रदान गरिनुका साथै अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने जाइकालाई खादा, माला, प्रमाण पत्र र मायाको चिनो स्वरुप बुद्धको मूर्ति प्रदान गरियो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेले उपस्थित महानुभावहरुलाई स्वागत गर्नभयो । त्यसैगरी पुरस्कृत हुनुहुने व्यक्ति तथा संस्थालाई सम्माननीय राष्ट्रपति तथा माननीय शिक्षामन्त्रीज्यूले संयुक्त रुपमा सम्मान प्रदान गर्नुभयो ।
सो कार्यक्रममा मन्त्रालय तथा राष्ट्रपतिको कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत पुस्तकालयकर्मीसहित दुई सयभन्दा बढी महानुभावहरुको उपस्थिति रहेको थियो ।


















