भक्तपुर, असार ३ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अब घरमै बसि राष्ट्रिय परिचयपत्र नम्बर हेर्न सकिने मिलाएको छ ।

पहिले फोटो खिचिसकेका महानुभावहरुले प्राप्त गरेको निस्सा(कागज)मा १६ अंक भएको आवेदन नम्बरका आधारमा नै अब देखि राष्ट्रिय परिचयपत्र नम्बर घरबाट नै हेर्न सकिने व्यवस्था मिलाइएको हो ।
यसका लागि विभागको http://citizenportal.donidcr.gov.np/en/check-nid-card-status लिन्कमा गएर request number (आवेदन नम्बर) मा १६ अंकको नम्बर हालेपछि परिचयपत्रको नम्बर प्राप्त गर्न सकिन्छ ।


उक्त परिचयपत्रको नम्बर श्रावण देखि भाद्र मसान्तसम्म हुने सामाजिक सुरक्षा भत्ता नवीकरण समयमा लाभग्राहीहरुले आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । बायोमेट्रीक भेरिफिकेसन गरिसकेपछि अर्को आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त हुनेछ ।
यसअघि परिचयपत्रको नम्बर पाउन लाभग्राहीहरु जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्थ्यो । यसबाट लाभग्राहीहरुले दु:ख पाएको पनि गुनासो आएको थियो । यो व्यवस्थाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सहज हुने भएको छ ।


















