भक्तपुर, जेठ ११ । भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा तथा एन.सी.सी.एस. समूहको मूल प्रायोजनमा एन.सी.सी.एस. आमन्त्रित उपत्यकाव्यापी T20 क्रिकेट टूर्नामेंट हुने भएको छ ।
मूलपानी स्थित क्रिकेट रंगशाला (माथिल्लो) मा यहीँ जेठ १२ गतेदेखि जेठ १९ गतेसम्म पुरुष र महिला टोलीका लागि दुई छुट्टाछुट्टै प्रतियोगिता हुन लागेको आयोजक समितिले जनाएको छ ।
टूर्नामेंटको पूर्व सन्ध्यामा आज एक समारोहविच टूर्नामेंटको ट्रफी अनावरण तथा जिल्ला स्तरीय महिला टीमहरूको जर्सी समेत सार्वजनिक गरिएको छ ।

ट्रफी अनावरण गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टुर्नामेन्टको सफलताको शुभकामना दिनुहुदैें अनुशासित र निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि खेलकुद पूर्वाधार निर्माणमा जोड दिदै विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो ।
क्रिकेटलाई राज्यले प्राथमिकतामा नराखेको बताउनुहुदैं प्रमुख प्रजापतिले रंगशाला निर्माणमा विदेशी संस्थाको सहयोगमा नभई सरकारकै लगानीमा निर्माण गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।
भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले क्रिकेटको दिगो विकास र खेलाडीलाई उपयुक्त दबु प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । भक्तपुर क्रिकेट क्षेत्रमा पनि सम्भावना भएको जिल्ला रहेको बताउनुहुदैं क्रिकेट खेलको विकासमा भक्तपुर नगरपालिकाबाट पनि आवश्यक पहल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा टुर्नामेन्ट निर्देशक सन्तोष शाक्यले प्रतियोगिताले समग्र खेलकुद क्षेत्रमा जोड पुग्ने र खेलाडीहरुमा हौसला मिल्ने बताउनुभयो ।

प्रतियोगितामा नेपाल क्रिकेट संघ र वागमती प्रदेश क्रिकेट संघको समेत समन्वय हुने जनाइएको छ ।


















