भक्तपुर, जेठ ७ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजनामा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतम र उद्यमी व्यवसायीहरुबीच कर सम्बन्धीका समसामयिक विषयमा एक अन्तरक्रिया कार्यक्रम भयो ।

भक्तपुर चेम्बरको सचिवालय सल्लाघारीमा भएको उक्त कार्यक्रमका अवसरमा संस्थाका अध्यक्ष श्री कविदास श्रेष्ठले कर शिक्षा कार्यक्रमबाट व्यवसायीले लाभ लिएको महसूस हुनु पर्ने, अन्जानमा भएका त्रुतीहरुलाई सहजढंगबाट संशोधन गर्न सकिने व्यवस्था हुनु पर्ने, व्यवसायीलाई राजस्वमा राहत सुविधा उपलब्ध हुनु पर्ने, उधारो हिसाव व्यवस्थापनमा स्पष्ट नीति तय हुनु पर्ने जस्ता विषयमा आफ्ना धारणाहरु राख्नु भएको थियो । सो अवसरमा विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं संस्थाका सल्लाहकार श्री रोशन भोयद्योले राजस्व नीतिमा हुनु पर्ने संशोधनका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्सले गर्दै आएका प्रयासहरुका बारेमा कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमकै अवसरमा गत चैत्र १ गतेदेखि शुरु भई ३ हप्तासम्म सञ्चालन भएको लेखा, कर तथा इ फाइलिंग सम्बन्धी तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत श्री दिलिप कुमार गौतमले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।


















