बाँके, जेठ ७ । तराइ क्षेत्रमा उच्च गर्मीको कारण चल्ने तातो हावाको लहरले पर्ने प्रभावको बारेमा संकटासन्न पेशागत समुहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण तालिम दिइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा भएको उक्त तालिममा पेशागत संगठनहरु नेपाल प्रहरी, ट्राफिक प्रहरी, कामदार, सरसफाईकर्मी, निर्माण व्यवसायी, अपाङ्ग संघ, मजदुर लगायतको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी र अमेरिकन रेडक्रसको सहकार्यमा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा नेपालगंजमा संचालित तातो हावाको लहर लु प्रतिकार्य कार्यक्रमद्वारा उक्त तालिम दिइएको हो ।

नेपालगंज उपमहानगरपालिका विपद् तथा वातावरण समितिका संयोजक समीर प्रताप सिंहले नगर क्षेत्रमा तातो हावाको लहर लु को सचेतनाका लागि माइकिङ्ग, घरभेट, प्रचार प्रसार, एफ।एम।बाट जिंगल प्रसारण भइरहेको बताउँदै कुलिङ्ग सेन्टर निर्माण कार्य आगाडि बढिसकेको जानकारी दिनुभयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावाको लहरलाई नेपाल सरकारले विपद्को रुपमा स्वीकार गरिसकेको उल्लेख गर्दै यसको प्रभावबाट बच्न सबैलाई आग्रह गर्नुभयो ।

उक्त तालिममा तातो हावाको लहर (लु) भनेको के हो, यसको जोखिम, प्रभाव, न्यूनीकरण, बच्ने उपाय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् तथा संकट व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, नेपालगंज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डि।सी। लगायतले विचार व्यक्त गर्नुभएको थियो भने गोष्ठीको सहजीकरण नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी र नेरेसो विपद् तथा संकट व्यवस्थापन विभागका बरिष्ठ अधिकृत ललित खतिवडाले गर्नुभएको थियो । कार्यक्रम संचालन सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गर्नुभएको थियो ।


















