अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन

0
595

भक्तपुर, १जेठ ६ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप तिलगंगा आँखा अस्पतालको सेवा आजबाट शुभारम्भ भएको छ ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर देशकै सानो नगरपालिका भए पनि शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा यसले पुर्याएको योगदान उल्लेखनीय भएको बताउनुभयो ।

भक्तपुरले नगरबासीहरुको मात्र नभई देशकै जनतालाई आवश्यक सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको बताउँदै उहाँले आँखा अस्पतालबाट गरिब जनताको निःस्वार्थ रुपमा सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँले अस्पतालबाट प्रवाह हुने सेवाबाट व्यापक जनताको हित हुने बताउँदै जनताले बुझ्ने सरल भाषामा सेवा प्रवाह गर्न सके बिरामीहरुलाई सहज हुने बताउनुभयो ।

उहाँले भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाएकोमा तीलगंगा आँखा अस्पताललाई धन्यवादज्ञापन गर्दै अस्पतालका सेवा सुविधाहरु समयसापेक्ष ढंगले स्तरवृद्धि गर्दै लानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनताको सहज सेवाको लागि तिलगंगा र हेटौडा आँखा अस्पतालको तुलनामा सस्तो शुल्कमा स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालन गरेको बताउनुभयो ।
१८ वर्ष अघि भक्तपुरको सानो कोठाबाट सञ्चालित आँखा केन्द्र हाल भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालको सुविधासम्पन्न भवनबाट सेवा शुभारम्भ हुनु भक्तपुरबासीहरुको लागि गौरवको विषय भएको बताउँदै उहाँले ख्वप तिलगंगा आँखा अस्पतालले विद्यालयहरुमा आँखा शिविर, टोलटोलमा आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

त्यस्तै नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले जनताको सेवा र सुविधाको लागि समाजवाद उन्मुख गतिविधि गर्दै आइरहेको बताउँदै भक्तपुर नपाले शिक्षा सँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय काम गर्ने योजनाका साथ अगाडि बढिरहेको बताउनुभयो ।

तिलगंगा आँखा अस्पताल काठमाडांैका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले ऐतिहासिक एवम् सांस्कृतिक नगरका जनताहरुको सेवा गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै आर्थिक र सामाजिक कारणले कुनै पनि बिरामीले आँखा उपचारको सेवाबाट बञ्चित हुन नदिन यस अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रवाहमा जोड दिइने बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालबाट प्रवाहित हुने सेवा सुविधाहरुलाई अझ व्यवस्थित गर्दै लाने योजना रहेको बताउँदै अस्पतालले जनमुखी कार्य गरी ३६५ दिन नै जनताको सेवामा समर्पित भावले काम गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने ख्वप तिलगंगा आँखा अस्पतालका इन्चार्ज डा. धिरज अधिकारीले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here