बैशाख ८, काठमाडौं । हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हावाहुरी चलिरहेको छ । गणितीय मौसम पूर्वानुमान (WRF-EMS, Nepal) अनुसार आज दिउँसो देशका तराईका केही भू-भागहरूमा २४ मिटर प्रति सेकेण्ड सम्मको हावाहुरी चल्ने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।
आगामी २४ घण्टाभित्र बाग्मती, गण्डकी र लुम्विनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको जनाएको छ ।
साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना समेत रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


















