चैत्र १२, भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित प्रा.डा. सर्वज्ञभक्त मल्लको ‘सफल शिक्षणका लागि सरल शिक्षण नमूना’ पुस्तक (दोस्रो संस्करण) को आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षकहरुसँग धेरै अनुभव हुने र ती अनुभव र ज्ञान नयाँ पुस्ताका लागि अमूल्य सम्पत्ति भएको हुँदा त्यसको संरक्षण गर्नु आफैमा उल्लेखनीय काम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्राध्यापकहरु अनुभवका धनी हुनछन् । जीवन भोगाइका अनुभवहरु झुटो हुन सक्दैन । सेवा निवृत्त शिक्षकहरुको अनुभवले नयाँ पुस्तालाई धेरै राम्रो शिक्षा प्रदान गर्छ ।’
भक्तपुरका सबै विद्यालयहरुको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन नगरपालिकाले समय समयमा शिक्षक तालिम, विज्ञ समूहद्वारा विद्यालय अनुगमन र त्यसको सिफारिसअनुसार विद्यालयहरुलाई आर्थिक अनुदान दिने व्यवस्था गर्दै आएको सोही क्रममा उहाँले बताउनुभयो ।
अहिले विद्यालयमा अध्यापनरत शिक्षकहरु तालिम प्राप्त रहेको र विगतको तुलनामा विद्यालयको भौतिक पूर्वाधारहरु पनि सुधार भइसकेको बताउँदै उहाँले भक्तपुरका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षण सामाग्रीहरुको पनि व्यवस्थापन राम्रो रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयहरुको गुणस्तरमा समानता ल्याउने गतिविधि संयुक्त रुपमा सञ्चालन गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।
पुस्तकका लेखक एवम् शिक्षाविद् प्रा.डा. सर्वज्ञभक्त मल्लले पाँच दशक शिक्षण सेवामा आबद्ध हुँदाका आफ्ना अनुभव सुनाउँदै शिक्षकहरु शिक्षण प्रक्रियामा परिपक्व भए मात्र शिक्षामा गुणात्मक विकास हुने धारणा राख्नुभयो ।
पुस्तकको पहिलो संस्करण बि.सं. २०३४ साल पुस १९ गते प्रकाशित भएको बताउँदै उहाँले आफूले करिब ५१ वर्ष अगाडि पढेको र सिकेको शैक्षिक अनुभव र ज्ञानबाट नयाँ पुस्तालाई प्रेरणा मिल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् सेवा निवृत्त शिक्षक समाज भक्तपुरका अध्यक्ष अम्बिकामान मानन्धरले पुस्तक प्रकाशन गर्ने अवसर प्राप्त भएकोमा लेखकप्रति समाजको तर्फबाट आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सेवा निवृत्त शिक्षक समाज भक्तपुरका प्रधान सम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकबारे चर्चा गर्नुभयो भने समाजका सदस्य धिरेन्द्रबहादुर कायस्थले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै समाजका कोषाध्यक्ष विश्वराम कवांले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने समाजका तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।