मंसिर ९, भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवाहरु विदेश निर्यात गरेर देश कृषिमा आत्म निर्भर हुन नसक्ने बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं २ मा भएको माटो परिक्षण शिविरको कार्यक्रममा बोल्नुहुदै प्रमुख प्रजापतिले कृषि प्रधान देशमा तरकारी, अन्न, फलफुल, माछामासु जस्ता कृषि जन्य वस्तुहरूमात्र वर्षको करिव ३ खर्बको आयात गर्नुपर्ने स्थितिमा पुर्याएर सरकारले देशलाई कृषिमा समेत परनिर्भर बनाएको बताउनु भयो ।
भक्तपुर नगरपालिकाद्वारा संचालित देको दिवा इटापाके आवास योजनामा आइरहेको केही समस्याबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो – “समस्या समाधानको निमित्त हामी जनप्रतिनिधिहरु संधै प्रयत्नरत रहनेछौ । विवाद र समस्याको समाधान सम्बाद र सहमतिमा टुंगिन्छ । गुनासाहरु छन् भने त्यसको निराकरण गर्ने समिति छ । जबर्जस्ती काममा बाधा पुर्याउने कोशिश गर्छ भने अबको ढिलाइको जिम्मेवारी पनि उसैले लिनु पर्छ ।

वडा न २ का वडाअध्यक्ष हरि प्रसाद बासुकलाले भक्तपुर नपाले आयोजनाबारे विस्तृत जानकारी दिँदै गुनासो अध्ययन समितिले एक एक छलफल गरी समाधानको कोशिश गरिरहेको जानकारी दिनु भयो । जनताको हितमा आयोजना संचालन गरिरहेको बारे स्पष्ट पार्दै नगरपालिका र जनप्रतिनिधिमाथि जथाभावी लान्छना लगाउनु गलत हो भन्नुभयो ।
भनपा कृषि समितिका संयोजक राजकृष्ण गोराले नगरबासीहरुले आ-आफ्नो जग्गाको माटो बारे जानकारी पाउन, उर्वर शक्ति बढाउन माटो शिविरको आयोजना गरेको बताउँदै भनपाले किसानहरुलाई सस्तोमा कम्पोस्ट मल वितरण गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजुले माटो परीक्षण शिविरको आवश्यकता र महत्वबारे प्रकाश पार्नु भएको थियो ।
शिविरले भक्तपुरको माटोको बारेमा जानकारी लिन मद्दत हुने जनाइएको छ ।




All reactions:


















