कार्तिक १०, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलाई पितृशोक परेको छ । उहाँका पिता पूर्णनारायण ज्याख्वको शुक्रबार बिहान निधन भएको हो । खाना नलीमा क्यान्सरबाट पीडित उहाँको बिहान ७:४४ बजे भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको हो । उहाँ ३ वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
मृतक ज्याख्वको शवमा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल र नेपाल मजदुर किसान पार्टी नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले किसान सङ्घको झन्डा ओढाइ श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । मृतक ज्याख्वको शुक्रबार नै दाहसंस्कार गरिएको थियो । पिता पूर्णबहादुर ज्याख्व र माता
जगतमाया ज्याख्वका छोरा पूर्णनारायण ज्याख्वको जन्म २०१२ कार्तिक १८ गते भएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
मृतक ज्याख्व किसान सङ्घमा आबद्ध हुनुहुन्थ्यो । नेमकिपा र नेपाल क्रान्तिकारी किसान सङ्घको हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउने उहाँ निडर, निर्भिक असल किसान कार्यकर्ता हुनुहुन्थ्यो । पार्टी र अन्य जनवर्गीय सङ्गठनको आयोजनामा हुने सभा, भेलामा उहाँ सहभागी हुनुहुन्थ्यो ।
बाली बाट्ने आन्दोलनदेखि अन्य विभिन्न आन्दोलनमा सरिक उहाँ साथीभाइसँगहेलमेल गर्नुहुन्थ्यो । हँसी ठट्टा गर्न रुचाउने उहाँ कहिल्यै घमण्ड गर्नुहुँदैनथ्यो । शत्रुसामु कहिले नझुक्ने स्वभावका उहाँ क्यान्सरबाट पीडित भए पनि सभा समारोहमा सरिक भइरहनुहुन्थ्यो ।


















