कार्तिक ५, भक्तपुर । दशैंको महाअष्टमीका दिन भक्तपुरमा हुने जात्राहरु मध्य निक्कुथु जात्रा पनि एक हो । निक्कुथु एक राँगा हो जसलाई तलेजुको मुल चोकमा महाअष्टमीका दिन बलि दिइन्छ । यस दिन एक मुख्य निक्कुथु लगायत बाँकी २४ वटा गरि जम्मा २५ वटा निक्कुथुहरुको बलि दिने गर्दछ । यस रातलाई कालरात्री भनिन्छ । कालरात्रीको साँझ करिब ५ बजे तिर तलेजुबाट मुख्य निक्कुथु लिनको लागि सानो ब्यासी तिर जाने गर्दछ । यसरी निक्कुथु लिन जानेबेला हालको शारदा स्कुलदेखी सानो ब्यासी सम्म सुकुन्दा, दियो, पालाचा बालेर बसेकाहरुमा तेल थप्दै जाने गर्दछ । यसरी तेल थप्दै जान्दा करिब ४ पाथी तेल जाने गर्दछ । छनौट गरि राखेको निक्कुथुलाई सानो ब्यासीमा रहेको बैद्यहरुको घरमा स्याहार सुसार गर्न राखेको हुन्छ । मल्लकालमा ती स्याहार सुसार गर्ने परिवार “न्यानं फिम्हा” अर्थात सेनाका मान्छे हुन । मुख्य निक्कुथुको पूजा भएपछि खम्ये जात्रा जस्तै निक्कुथु जात्रा हुने गर्दछ । यो जात्रा हेर्नेको ठूलो भिड लाग्ने गर्दछ । यसरी ल्याएको निक्कुथु संसंगै भक्तपुरका २४ टोलबाट एउटाको हिसाबले २४ वटा निक्कुथुहरु पनि ल्याइन्छ । तलेजु परिसरमा निक्कुथु ल्याएपछि मात्र त्यस दिन कुछी भ्वय खाने गरिन्छ । सम्भवत कुछी भ्वयमा दुई माना चिउरा राखेर भोज खाने भएको कारण यस भोजलाई कुछी भ्वय भनिएको हो । त्यस्तै कसैले कसैले कुल छें मा बसेर खाने भएकोले कुछी भ्वय भनिएको हो पनि भनिन्छ । कुछी भ्वय पश्चात् कालरात्री सुरु हुने गर्दछ । कालरात्रीका समय तलेजु भवानीको विशेष पूजा हुने गर्दछ । पूजा पश्चात् २५ वटा निक्कुथुको बलि दिने गर्दछ ।
लेख: GR Ranjit
भक्तपुरको ब्यासीमा आज निक्कुथु जात्रा हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















