असोज २७ गते, भक्तपुर । वाकुपति नारायण नौ बाजा भजन खलको सुमधुर संगित सहित उदय बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा भक्तपुर जिल्ला बचत तथा सहकारी संस्थाका अध्यक्ष कृष्ण गोविन्द लाखाजूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
सोही कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था अध्यक्ष कृष्ण गोविन्द लाखाजूले समुदायका सहकारी संस्थाले सामाजिक उत्तरदायित्वबोध गर्दै समाजमा जनतालाई आर्थिक तथा सामाजिक सचेतता फैलाउन योगदान गरेको बताउनुभयो ।
उहाँले सामुदायिक सहकारीमा रहेको जगेडा कोष, नियमित बचत तथा शेयर पुँजीको कारण समुदायमा विश्वास जित्न सक्ने बताउँदै सहकारीको जानकारी समयसमयमा लिनुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा भनपा वडा नं ८ का वडा सदस्य रामसुन्दर बासीले भक्तपुरमा जनताको आर्थिक उन्नति र जनताको मेहनतको पैसाको सुरक्षामा सामुदायिक सहकारीको विकल्प नरहेको बताउँदै व्याजको लोभमा जथाभावी पैसा बचत नगर्न अनुरोध गर्नुभयो ।
सभामा संस्थाका सचिव दिल प्रसाद प्रजापतिले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिवराम बोहजूले नाफानोक्सान, वासलात सहितको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले पहुँचका आधारमा सहकारी खोलेर जनताको मिहिनेतबाट संकलन गरिएको रकम संकलन गरेर भाग्ने गरेको बताउँदै सहकारीले व्यापार भन्दा पनि सदस्य केन्द्रित सेवा दिनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न भएको पहिलो सत्रको कार्यक्रममा नारी कल्याण साकोस, सिद्धि गणेश साकोस तथा भक्तपुर साकोसका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रममा ४ जना असल ऋणी तथा उत्कृष्ट कर्मचारी नम्रता प्रजापतिलाई प्रशंसापत्र र एसईई परीक्षा उत्तीर्ण संस्थाका ३१ जना बाल सदस्यहरूलाई उदय शिक्षा पदक तथा प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रमको बीचबीचमा चिठ्ठा उपहार कार्यक्रमले सदस्यहरुको उल्लेख्य सहभागिता पनि रह्यो ।


















