लोभी मुसा : एक कथा

0
160

एउटा लोभी मुसाले टम्म मकैले भरिएको एउटा टोकरी देख्यो । उसले त्यो सबै मकै खाने विचार गर्‍यो र टोकरीमा एउटा सानो प्वाल बनाएर भित्र पस्यो । पेट भरिएर तृप्त नहुँदासम्म उसले मकै खायो । बेसरी अघाएपछि उसले अब बाहिर निस्कनु पर्‍यो भन्ने विचार गर्‍यो । उसले त्यस सानो प्वालबाट बाहिर निस्कन धेरै कोसिस गर्‍यो, तर कसै गरी निस्कन सकेन ।

किनकि, उसले बढी नै मकै खाएको थियो जसले गर्दा पेट अटसमटस भएर फुलेको थियो । मुसा अत्तालिएर रुन थाल्यो । त्यसै समय त्यहाँबाट एउटा खरायो कतै गइरहेको रहेछ । उसले मुसाको चिच्याहट सुन्यो र सोध्यो, ‘अरे मुसा भाइ तिमी किन रुँदै छौ हँ ।’ मुसाले खरायोलाई भन्यो, ‘मैले एउटा सानो प्वाल बनाएँ र मकै खान यो मकैदानभित्र छिरेँ । तर, अब म यो प्वालबाट बाहिर निस्कन सकिरहेकै छैन ।’

‘ए तिमीले मकै धेरै खायौ होला । त्यसैले तिम्रो पेट ठूलो भएर निस्कन सकेनौ । अब पेट नघट्दासम्म पर्ख अनि निस्कनु नि । किन आत्तिन्छौ,’ खरायोले उपाय सुल्झाइदियो । खरायो मुसाको मूर्खता सम्झिएर फिस्स हाँस्यो र आफ्नो बाटो लाग्यो । धेरै खाएकाले निद्रा पनि लागेको थियो । मुसा त्यही टोकरीमै सुत्यो । खाएको मकै पचिसकेपछि अर्काे दिन उसको पेट स्याप्प खुम्चिसकेको थियो । तर, उसले अझै केही मकै खान चाह्यो । उसले टोकरीबाट बाहिर निस्कने कुरा बिर्सियो । मकै खाएपछि उसको पेट फेरि ठूलो भयो । खाइसकेपछि मुसाले त्यहाँबाट निस्कने कुरा सम्झ्यो । तर, आज पनि निस्कन नसक्ने भयो ।

त्यसैले उसले भोलि भने अवश्य नखाई बाहिरिन्छु भन्ने सोच्यो । एउटा बिरालो त्यही बाटो भएर कतै जान थालेको थियो । उसले टोकरीबाट मुसाको गन्ध आइरहेको थाहा पायो । उसले मकैदानीको ढक्कन उठायो र त्यो मुसालाई मारेर खाइदियो ।अतिशय लोभले आजसम्म कसैको भलो गरेको छैन । सफल हुन अतिशय लालचबाट परेज अत्यावश्यक हुन्छ । कसैले पनि यस लोभी मुसाजस्तो हुनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here