भक्तपुर, १० असोज । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी साधारणसभालाई लक्षित गर्दै संयुक्त भेला शनिबार चोफलस्थित संस्थाको सभाकक्षमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको अध्यक्षतामा भएको भेलामा आगामी २०८३ असोज १७ गते शनिबार ब्रह्मायणी पार्टी प्यालेसमा साधारणसभा आयोजना गरिने जानकारी गराइएको थियो।
कार्यक्रममा अध्यक्ष कासिछ्वाले संस्थाको संस्थागत प्रगति र समृद्धिका लागि सदस्य, पदाधिकारी तथा शुभेच्छुक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले संस्थाको हित र विकासका लागि निःस्वार्थ सहयोग तथा सकारात्मक भूमिकाको अपेक्षा व्यक्त गर्नुभयो।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजूले सहकारी स्थापनाको प्रारम्भिक समयलाई स्मरण गर्दै वर्तमान अवस्थामा सहकारी संस्थाको आवश्यकता र भूमिकाबारे चर्चा गर्नुभयो। उहाँले पदभन्दा कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै संस्थाको हितमा प्रभावकारी काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी र अधिकार दिनुपर्ने धारणा राख्नुभयो। अनावश्यक खर्च घटाएर सदस्य तथा समुदायको हितमा स्रोत परिचालन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
अर्का सल्लाहकार रामकृष्ण प्रजापतिले साधारणसभा सहकारीको नीति, योजना, पारदर्शिता तथा सदस्य सहभागितासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले साधारणसभामार्फत संस्थाको आगामी दिशा र कार्ययोजनाबारे छलफल गर्न सकिने धारणा राख्नुभयो।
सल्लाहकार काशिलाल प्रजापतिले साधारणसभाको प्रक्रिया, सदस्यहरूको भूमिका तथा सहभागिताको महत्त्वबारे जानकारी गराउनुभएको थियो।
भेलामा कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक अवस्था तथा संस्थाले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी दिनुभयो।
कार्यक्रममा रामकृष्ण लावजूले स्वागत मन्तव्य राख्नुभएको थियो भने सत्यराम ज्ञामरूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

















