श्रमजीवी सहकारीको वार्षिक समीक्षा बैठक सम्पन्न

0
33

भक्तपुर, भाद्र ७। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ।

बैठकमा संस्थाका संस्थापक अध्यक्ष गणेशभक्त सितिखुले वार्षिक समीक्षा बैठकले आगामी वर्षका लागि सदस्यहित तथा सामाजिक उत्तरदायित्वसहित संस्थाका समग्र गतिविधिमा अपेक्षित जागरण ल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

संस्थाका सल्लाहकार डा. राजुभाइ त्यातले बदलिँदो परिस्थितिअनुसार पुरानो पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तासँग प्रविधिसम्बन्धी ज्ञान र सीप सिक्नुपर्ने बताउनुभयो। सहकारीका सञ्चालकहरू पनि प्रविधिको विकासप्रति चनाखो र प्रविधिमैत्री बन्नुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, संस्थाका पूर्व अध्यक्ष गणेशलाल फोजुले समीक्षा बैठकलाई केवल प्रतिवेदन सुन्ने र सुनाउने साधारण भेलामा सीमित नगरी अझ परिष्कृत, प्रभावकारी तथा सहभागितामूलक बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द राम त्वानावासुले समिति, उपसमिति तथा संस्थापक पदाधिकारीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै संस्थाको प्रगति तथा आगामी कार्यदिशाका विभिन्न पक्षबारे जानकारी गराउनुभयो।

संस्थाका उपाध्यक्ष लक्ष्मीनारायण कुसाथाले ऋणसम्बन्धी विषयमा, सचिव नारायण प्रसाद लागेले वार्षिक गतिविधि, निर्णय तथा नीतिगत परिमार्जनसम्बन्धी विषयमा र कोषाध्यक्ष हरिभक्त हामोले आर्थिक वर्ष २०८२/०८३ सम्मको आर्थिक तथा सदस्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कोषाध्यक्ष हामोका अनुसार समीक्षा अवधिसम्म संस्थामा ४ हजार २२५ सदस्य रहेका छन् भने संस्थाको कुल कारोबार रु. ८७ करोड ५१ लाख ९३ हजार ४१६ पुगेको छ।

बैठकमा संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजक सुरेन्द्र प्रसाद दुवालले संस्थाको नीतिगत तथा वित्तीय अवस्थाको विश्लेषण प्रस्तुत गर्नुभयो। बाह्य लेखापरीक्षक सुरेन्द्र हाडाले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरणमा देखिएका विभिन्न पक्षका साथै संस्थाबाट गर्नुपर्ने र गर्न छुटेका विषयमा व्यापक छलफल गरी आवश्यक निष्कर्षमा पुग्नुपर्ने सुझाव दिनुभयो।

सञ्चालक सदस्य पुण्यराम दुवालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य लक्ष्मी खाताखोले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here