भक्तपुर, २३ जेठ । वागीश्वरी कलेजको मानविकी संकाय अन्तर्गत स्नातक तहमा प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम मध्यपुर ठिमी नगरपालिकाको वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार नर्थ प्वाइन्ट हलमा सम्पन्न भयो ।
समापन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले सामुदायिक कलेजको प्रत्यक्ष सिकाइ र व्यावहारिक सिकाइले विद्यार्थीहरुको ज्ञानको दायरा फराकिलो हुनेमा विश्वास प्रकट गर्नुभयो । साथै वहाँले वडागत परिवेशसँगै आफ्नो ठाउँ आफै विकास गर्ने भावना राखी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक मंगलेश्वर ध्वजूले वागीश्वरी कलेजको समुदायबाट सिक्ने मौलिक अभ्यासको दौरानमा हालसम्म ११ जिल्लामा सिकाइ अध्ययन भ्रमण गराएर विद्यार्थीहरुले परियोजना कार्य गर्दै आएको प्रकाश पार्नुभयो ।
स्नातक दोस्रो वर्ष सामाजिक कार्यका विद्यार्थी विन खाइजु र समाजशास्त्र प्रथम वर्षका विद्यार्थी कञ्चन तिमिल्सिनाले सिकाइ र अध्ययन भ्रमणको अनुभव बाँड्नु भयो । विद्यार्थीहरु भक्त कुमारी लामिछाने, शोभा लागेजु, विपिन कुसाथा, जेनिस बाडे र प्रतिक राईले पनि प्रमुख अतिथिसँगको साक्षात्कार कार्यक्रममा प्रश्नहरु राख्नुभएको थियो ।
शिक्षक अम्बर दलीश्रेष्ठले सहजीकरण गर्नुभएको सो कार्यक्रम अन्तर्गत बिहान सबेरै सो टोलीले ठिमी सेरामिक्स, धार्मिक क्षेत्र निलबाराहीबाट अध्ययन भ्रमण गरेको थियो । तत्पश्चात् ठिमी सेरामिक्स बहाखा बजार, बालकुमारी, चपाचो लगायतका ठिमीको मुख्य बजारमा पुगेर नगदेशमा विभिन्न समूह बनाएर तरकारी खेतीबारे स्थानीय किसानहरुसँग सर्वेक्षण गरेका थिए । समापन समारोहपछि विद्यार्थीहरुले कमलपोखरीमा पुग्दा ताजगीको अनुभव गरेका थिए ।
समाजशास्त्र, सामाजिक कार्य, ग्रामीण विकास र पत्रकारिताका ३१ जना विद्यार्थीहरु र ६ जना शिक्षकहरुको सहभागितामा सो कार्यक्रम भएको थियो ।
वागीश्वरी कलेजका विद्यार्थीहरुको सामुदायिक सर्वेक्षण ठिमीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















