(६ जेठ २०८३)
आदरणीय नगरबासी दाजुभाई तथा दिदी बहिनीहरु,
भक्तपुर नगरपालिकामा दोस्रो कार्यकालको लागि हामी निर्वाचित भएर पद बहाली गरेको आजबाट ४ वर्ष पूरा भयो । बि.सं. २०७९ साल जेठ ६ गते आजकै दिन हामीले पद बहाली गरेका थियौं । यस अवधिमा हामी जनप्रतिनिधिहरुले निर्वाचन घोषणापत्रमार्फत जनताबीच गरेका प्रतिबद्धताहरु एक एक गरी पूरा गर्दैछौं । जनताको इमानदारीपूर्वक सेवा गर्ने बाहेक हामी जनप्रतिनिधिहरुको अरु कुनै छुट्टै स्वार्थ छैन । हामी जनताको सेवामा निरन्तर खटिरहेका छौं । जनताको आलोचना र सुझावहरुलाई आत्मसात गर्दै निरन्तर सेवामा समर्पित भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्दैछौं ।
सांस्कृतिक नगर, नाचगानको राजधानी र जीवित संग्रहालयजस्ता उपमा पाएको भक्तपुर नगरको गौरवलाई अझ उचाईमा पुर्याउन हामी निरन्तर प्रयासरत छौं । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, भौतिक पूर्वाधार निर्माणलगायत संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माणका कार्यहरु गर्दै आएका छौं ।
स्थानीय तहको स्वायत्तताको लागि हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौं । हरेक सरकारले स्थानीय तहलाई केन्द्रको मातहतको एउटा निकाय वा आदेश पालकको रुपमा व्यवहार गर्दै आएको छ । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहहरुलाई केही हदसम्म अधिकार सम्पन्न बनाएका छन् । संविधान र ऐनअनुसार कक्षा १२ सम्मको सम्पूर्ण शिक्षाको एकल अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ । तर त्यसको विपरीत शिक्षा मन्त्रालयले स्थानीय तहसित कुनै किसिमको सल्लाह र समन्वयसम्म नगरी आइतबार बिदा दिने, विद्यार्थी भर्ना र स्कूल सञ्चालनको दिन तोक्ने जस्ता निर्णयहरु गर्यो र अध्यादेश जारी गरी विद्यालय व्यवस्थापन समिति गठनमा संशोधन ग¥यो । यसलाई स्थानीय तहहरुको स्वायत्ततामाथि केन्द्रको हस्तक्षेपको रुपमा लिएका छौं । संविधान विपरीत यस्ता हस्तक्षेप स्थानीय तहहरुको लागि स्विकार्य छैन । संघ, प्रदेश र स्थानीय तह सबै आआफ्नो क्षेत्रमा स्वायत्त छन् । कसैले पनि अर्को सरकारलाई आदेश वा निर्देशन गर्न मिल्दैन ।
अब भक्तपुर नगरपालिकाले चालु आ.ब. २०८२।८३ मा गरेका केही कार्यहरुबारे यहाँ संक्षिप्तमा राख्न चाहन्छौं ः
शिक्षा ः
भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित सात वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी देशभरिका विद्यार्थीहरुलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । शिशुस्याहार केन्द्रदेखि उच्च शिक्षासम्म प्रदान गर्ने भक्तपुर नगरपालिका नेपालको एकमात्र नगरपालिका हो ।
गुणस्तरीय शिक्षाको लागि विद्यालयहरुलाई भौतिक पूर्वाधार निर्माण, आवश्यक शैक्षिक सामग्री खरिद वा आवश्यकताअनुसार थप शिक्षकको बन्दोबस्तको लागि अनुदानको दिँदै आएका छौं । त्यसैगरी विद्यालय अनुगमनको निरन्तरता, गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि पर्याप्त छात्रवृत्तिको व्यवस्था तथा समय समयमा शिक्षकहरुलाई तालिमको व्यवस्था गर्दै छौं ।
उच्च शिक्षातर्फ यसैवर्ष ख्वप कलेज अफ इन्जिनियरिङलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यु.ए.ए.) प्राप्त भएको छ । २०८२ पुस ७ गते ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भूकम्प विज्ञान र विपदपछिको पुनःनिर्माण’बारे चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो भने त्रिभुवन विश्वविद्यालय भौतिक शास्त्र केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, भौतिक शास्त्र विभाग, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधि’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला २०८२ मंसिर २५ देखि पुस १ गतेसम्म सम्पन्न भयो । त्यसैगरी ख्वप कलेजको आयोजनामा ‘वातावरण, सामाजिक र शासन व्यवस्थामा नवीनता’ विषयक राष्ट्रिय सम्मेलन र ख्वप कलेज अफ ल को आयोजनामा ‘फौजदारी कानुन र न्याय’ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस्ता राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरुलाई निरन्तरता दिंदै जानेछौं । शैक्षिक विकासको लागि विभिन्न अनुसन्धानमूलक कामलाई पनि जोड दिँदै आएका छौं ।
स्वास्थ्य ः
जनताको स्वास्थ्य उपचार सहज बनाउने उद्देश्यले सञ्चालित घरदैलो नर्सिङ सेवा, वडा वडामा नियमित स्वास्थ्य शिविरहरु, वडा वडामा स्वास्थ्य केन्द्रहरुको विस्तार तथा जनचेतनामूलक स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्दैछौं ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक र सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने प्रयास गर्दैछौं । यही वर्ष ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ भयो भने आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम पनि यही वर्षबाट लागू भयो । बिरामीहरुको सहजताको लागि क्यु.आर. कोड स्क्यान गरी ल्याब रिपोर्ट प्राप्त गर्ने उपकरण जडान गरी सेवा प्रदान गरिरहेका छौँ ।
ख्वप अस्पतालमा दिनानुदिन बिरामीहरुको चाप बढ्दो छ । चालु आर्थिक वर्षको बितेको दश महिनामा ख्वप अस्पतालले २ लाख ४२ हजार ३२६ जना बिरामीलाई सेवा दिइसकेको छ भने घरदैलो नर्सिङ सेवातर्फबाट ४० हजार ९०३ जना बिरामीलाई सेवा प्रदान गरिसकेको जानकारी गराउन चाहन्छौं । हाल ख्वप अस्पतालमा ४४ जना विशेषज्ञ चिकित्सक, २३ जना मेडिकल अफिसर र ७१ जना नर्ससहित कुल २७५ जनशक्ति कार्यरत छन् ।
स्वास्थ्य बीमाको समयमा भुक्तानी नहुँदा अस्पतालले आर्थिक समस्या व्यहोरिरहेको छ । ख्वप अस्पतालको बीमा बोर्डसँग हालसम्म ३५ करोडभन्दा बढी भुक्तानी लिन बाँकी भएको अस्पतालले जनाएको छ । जनताको स्वास्थ्यसँग सम्बन्धित बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लानु आवश्यक छ । स्वास्थ्य बीमा कार्यक्रम बन्द भएमा गरिब तथा विपन्न वर्गका बिरामीहरु निजी अस्पतालहरुमा जान बाध्य हुनेछन् र जनताले महंगो शुल्क तिरेर अपचार गराउनुपर्ने अवस्था आउनेछ । यसर्थ अस्पतालहरुलाई बाँकी भुक्तानीको तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं ।
सम्पदा संरक्षण ः
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । २०७२ सालको भूकम्पबाट सयौं वटा सम्पदाहरु भत्केका थिए । ती सम्पदाहरु र लोपोन्मुख अन्य सम्पदाहरु मठ, मन्दिर, पाटी, सत्तल, ढुंगेधारा, द्योछेँ, मन्दिर, पोखरी आदि समेत गरेर हालसम्म कूल १७८ वटा सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भइसकेको छ भने अहिले डेढ दर्जन सम्पदाहरु निर्माणाधीन छन् । आजै मात्र मौलिक शैलीमा पुनःनिर्मित हाडा छेँको उद्घाटन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेज्युबाट सम्पन्न भइसकेको छ । छुमा गणेश मन्दिर, इन्द्रायणी द्यो छेँ को पुनःनिर्माण सम्पन्नको चरणमा छन् । थन्थु दरबार, इखालाछी मठ जस्ता महत्वपूर्ण सम्पदाहरु निर्माणाधीन छन् भने पाहाँछेँ पुनःनिर्माणको कार्य सुरुवात भएको छ ।
यही आर्थिक वर्षमा मात्र भोलाछेँ पाटी (वडा नं. ६), हैमा द्यो मन्दिर (वडा नं. ८), सलाँ गणेश पाटी (वडा नं. ९), दुगुरे फल्चा (वडा नं. १) लगायत सम्पदा सम्पन्न ग¥यौं । सांस्कृतिक पदयात्राअन्तर्गत भक्तपुरका पोखरीहरुको अवलोकन, समय समयमा योमारी प्रतियोगिता तथा प्रदर्शनी र खाद्य उत्सव, गाईजात्रामा प्रस्तुत सांस्कृतिक प्रदर्शनीलाई पुरस्कार तथा सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम सम्पन्न ग¥यौं । यही जेठ १५ गते परम्परागत दाफा प्रदर्शनीको तयारी भइरहेको छ ।
खेलकुद ः
भक्तपुर नगरपालिकाले सबै नगरबासीहरुलाई स्वस्थ राख्न नगरका २३ ठाउँमा खुल्ला व्यायामशालाहरुको बन्दोबस्त मिलाएका छौं । खेलकुदको क्षेत्रमा भलिबल, टेबलटेनिस, बक्सिङ, जिम्नाष्टिक, कराते र फुटबल लगायत विभिन्न ६ वटा खेलकुदको नियमित प्रशिक्षण दिँदै आएका छौं । खेलकुद विकासका लागि समय समयमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता, अन्तर नगर खेलकुद प्रतियोगिता, विद्यार्थीहरूलाई आत्मरक्षा तालिम, शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम गर्दै आउनुका साथै वडा वडामा छिकोङ शारीरिक व्यायामसम्बन्धी तालिम भइरहेकाेछ ।
यस वर्ष सम्पन्न जिल्लाव्यापी राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा भनपा प्रथम भएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा मेडल प्राप्त खेलाडीहरुको सम्मान कार्यक्रम आजको यस महत्वपूर्ण अवसरमा गर्दैछौं । हाम्रा खेलाडीहरुको हौसला बढाउन यस्ता किसिमको सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै जानेछौं ।
सरसफाइ ः
‘आफ्नो ठाउँको सरसफाइ आफैले गरौं’ भन्ने भावनाको विकास गर्न हरेक महिनाको १ र १५ गते पाक्षिक रुपमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदैछौं । जनप्रतिनिधि, कर्मचारी, स्थानीय टीम, क्लबलगायत स्थानीय जनताको त्यस्ता कार्यक्रमहरुमा सहभागी हुदै आएको छ ।
नगरको फोहरलाई व्यवस्थित गर्न कुहिने र नकुहिने अलग अलग संकलन गरी कुहिनेको कम्पोष्ट मल बनाइ किसानहरूलाई प्रतिकेजी रु. २० मा बिक्री गर्दै आएका छौं भने नकुहिने फोहर प्रतिकेजी ४ रुपैयाँमा बिक्री गरेर फोहरलाई आर्थिक स्रोत बनाउँदै छौं । फोहर व्यवस्थापन आधुनिक प्रविधिबाट गर्ने बिषयमा पनि छलफल भइरहेको छ ।
कृषि ः
किसानहरुको जीवनस्तर उठाउन कृषि उत्पादन वृद्धि विना सम्भव छैन । त्यसको लागि किसानहरुलाई समय समयमा किटनाषक औषधीको प्रयोग, माटो परीक्षण, नयाँ नयाँ प्रविधिसम्बन्धी आवश्यक तालिमहरुको बन्दोबस्त गर्दै आएका छौं । खेती किसानी गर्नेहरुलाई कृषि सामाग्री वितरण, किसान सूचिकरण, सहुलियतमा कम्पोष्ट मल वितरण, कृषि व्यवसायीहरुसँग अन्तरक्रियालगायतका कार्यक्रमहरु गर्दै आएका छौं ।
सीपमूलक तालिम ः
प्रत्येक युवालाई शिक्षासँगै सीपमूलक तालिम दिनुपर्ने आवश्यकतालाई महसुस गरी पाक शिक्षा, ज्येष्ठ नागरिक हेरचाह, हेयर कटिङ, सिलाइ, मोबाइल मर्मत, छालाको जुत्ता बनाउने, सिकर्मी, कपडाको झोला तथा ब्याग बनाउने, उद्यमशीलता लगायतका तालिमहरु नियमित सञ्चालन गर्दै आएका छौं । त्यसैगरी होम स्टे व्यवस्थापन, कम्प्युटर, चिनियाँ र जापानी भाषा, टेलिभिजन, ए.आइ. को प्रयोग सम्बन्धी तालिम दिएर युवाहरुलाई दक्ष बनाउने प्रयाश गर्दैछौं । तालिम प्राप्त युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउन भक्तपुर नगरपालिकाले युवा उद्यमशीलता ऋणको पनि व्यवस्था गरिरहेका छौं ।
विकास निर्माण ः
भक्तपुर नपा वडा नं. १० स्थित सिलखेमा प्राङगारिक मल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ । भनपा वडा नं. ८ लिबालीमा शीत भण्डारण गृह निर्माण, स्वास्थ्य सेवा विस्तारका लागि भनपा वडा नं. ७ र वडा नं. १० मा स्वास्थ्य सेवा केन्द्र, भनपा वडा नं. ५ मा पार्किङ निर्माण कार्यहरु अन्तिम चरणमा पुगेको छ । त्यस्तै खोला नियन्त्रण तथा बाढीबाट हुने क्षति न्युनीकरण गर्न हनुमन्त्ते खोलाको ठाउँ ठाउँमा रिटेनिङ वाल निर्माण कार्य भइरहेको छ भने घाट सुधार, खोलामा माटो निकाल्ने र सफा गर्ने कार्य भइरहेको छ । ख्वप अस्पताल परिसरमा सहायक पूर्वाधार निर्माण कार्य भयरहेको छ भने नगरका विभिन्न सडकहरु मर्मत सम्भार भइरहेका छन् । सिलखेदेखि कमलविनायकसम्म खानेपानी पाइपलाइन विस्तार गर्ने र खानेपानी प्रशोधन प्लान्ट जडान गर्ने कार्य चालु छ । भनपा वडा नं. ६ मा आदरनिकेतन भवनमा फिनिसिङ तथा विद्युतीय कार्य र सिसीटिभी जडानजस्ता अन्तिम चरणका कार्य भइरहेको छ भने तारा माविको भवन निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।
खानेपानी ः
भक्तपुरका जनतालाई खानेपानी समस्या समाधानको लागि निरन्तर प्रयास गर्दैछौं । हामी दोस्रो कार्यकालको लागि निर्वाचित भएको पहिलो वर्ष अर्थात् बि.सं.२०७९ सालदेखि नै केयुकेएलसँग समन्वय गरी मेलम्चीको पानी वितरण सुरु गरेका थियौं । अझै नगरका केही ठाउँहरुमा खानेपानी समस्या देखिएको हुँदा ती सबै क्षेत्रमा खानेपानी पु¥याउन ठाउँ ठाउँमा पाइपलाइन विस्तार गरी पानी वितरणको लागि आवश्यक पहल गरिरहेका छौँं ।
बस्ती विस्तारसँगै नगरकोटको पानी अपुग हुँदै गइरहेको हुँदा वैकल्पिक स्रोतहरु इनार, ढुंगेधारा, पोखरी, संरक्षणलाई पनि जोड दिँदैछौं । जमिनमुनिको पानी बोरिङ गरी अभाव न्युनीकरण गर्दै वर्षैभरि नगरबासीहरुलाई सहज पानी उपलब्ध गराउन प्रयासरत छौं ।
सहकारी ः
सहकारी पीडितहरुको विषयलाई सम्बोधन गर्न फरार सञ्चालकहरुको बारे आवश्यक कानुनी प्रक्रिया अवलम्बन गरी सञ्चालकहरुको सम्पत्ति रोक्का गर्नेजस्ता कार्य गर्दै आएका छौं । कमी कमजोरी देखिएका सहकारीहरुको अनुगमन गरी सुधार्ने प्रयास भइरहेको छ । कानुन विपरीत जनताको बचत लिएर भाग्ने सञ्चालकहरुलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका छौं ।
देको मिवा इतापाके आवास योजना ः
१६५३ रोपनी जग्गामा सञ्चालित यस आवास योजना अन्तिम चरणमा पुगेको छ । जग्गावाला किसानहरुलाई जग्गाधनी पूर्जा निरन्तर वितरण भइरहेको छ । स्थानीयबासीहरुको गुनासोलाई ध्यानमा राखी उचित सम्बोधन गर्ने प्रयास भइरहेको छ । विशेष गरी गुठी जग्गा कमाउने मोहीहरुको समस्या सम्बोधन गर्न सम्बन्धित क्षेत्रमा पहल गरिरहेका छौं ।
सञ्चारमाध्यम ः
नगरपालिकाको हरेक गतिविधि र निर्णयहरु मासिक ‘भक्तपुर’, पाक्षिक ‘ख्वप पौ’, ‘भक्तपुर खबर डट कम’ (अनलाइन) पत्रिका, फेसबुक पेज, वेभ साइटमार्फत सार्वजनिक गर्दै आएका छौं ।
बजार अनुगमन ः
जनताको स्वास्थ्यलाई ध्यानमा राखी सबैखाले खाद्यान्न र उपभोेग्य वस्तु बिक्री वितरणका सम्बन्धमा नगरपालिकाले अनुगमन गर्दै आएको छ । अनुगमनको क्रममा गलत काम गर्ने व्यवसायीहरुलाई कानुनी कारबाही गर्दै आएका छौँ ।
नक्सापास र मुद्दा फछ्र्यौंट ः
चालू आ.व.मा ३८० नक्सा दर्ता भएकोमा ३४४ वटा नक्सा पास भएको छ भने १७१ वटा निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिसकेको छ । सो अवधिमा अनियमित निर्माण समेत गरी ४७० मुद्दा दर्ता भएकोमा ३६७ वटा मुद्दा फछ्र्यौट भइसकेको छ ।
विविध ः
ड्ड २०८२ कार्तिक २९ गते जर्मनीको लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रोफेसर इखार्ड नागेलको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले ख्वप अस्पतालको अवलोकन भ्रमण ग¥यो ।
ड्ड २०८२ वैशाख ४ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वप अस्पतालको निरीक्षण गर्नुभयो ।
ड्ड चालु आर्थिक वर्षमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगर, दमक नपाका नगर प्रमुख रामकुमार थापा, मधेश विश्वविद्यालयका उपकूलपति प्रा.डा. दिपक शाक्य, इलाम र रंगेली नपाका जनप्रतिनिधिहरुले भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गर्नुभयो ।
ड्ड साथै चीनको छोङछिङ समाज विज्ञान अध्ययन प्रतिष्ठानका अनुसन्धानकर्ता सिओङ पो, दक्षिण कोरियाको छ्योङयाङ्गुन खेलकुद परिषद्का अध्यक्ष हान ग्वाङ सियोक, पूर्वी चीन प्राविधिक विश्वविद्यालयका डीन प्राध्यापक डा. लिऊ युइ मिङ, जनवादी गणतन्त्र चीनको इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधिमण्डल, दक्षिण एसियाली मुलुकका वास्तुविद्हरुको टोलीले भक्तपुर भ्रमण गरेको रेकर्ड छ ।
ड्ड मित्रराष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालका कार्यरत विज्ञ चिकित्सकहरुको सहभागितामा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न गरियो ।
अन्त्यमा, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाएर साँस्कृतिक नगरको नेतृत्व गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण जनताप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । नगरपालिकाको हरेक काममा साथ र सहयोग गर्नुहुने तमाम जनतामा हार्दिक धन्यवाद छ । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरूको ४ वर्ष कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिको मन्तव्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















