भक्तपुर, २०८३ जेठ ६ ।
भक्तपुर नगरपालिकाको मापदण्डअनुसार नियमित रूपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका घरधनीहरूलाई नगरपालिकाले अनुदान वितरण गरेको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ४ वर्ष कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल ले उक्त अनुदान वितरण गर्नुभएको हो ।
कार्यक्रममा वडा नं. १ का सन्दिपकुमार जोन्छेलाई रु. १ लाख ४१ हजार, वडा नं. ३ का सर्जुमैंया अमात्य हाडा र शिवसुन्दर हाडालाई रु. १ लाख ९६ हजार, वडा नं. ५ का बुद्धलक्ष्मी मचामसीलाई रु. २ लाख ३१ हजार, वडा नं. ४ का प्रविनसिंह राठौर, सुधिरसिंह राठौर र पुरन्द राठौरलाई रु. २ लाख ९१ हजार, वडा नं. ३ का गिरीगोविन्द सिलाकारलाई रु. ३ लाख, वडा नं. ४ का इन्द्र सिंख्वाललाई रु. २ लाख ७७ हजार, वडा नं. ५ का सुनमाया खाइतुलाई रु. १ लाख ६८ हजार तथा वडा नं. ७ का गितामैंया न्हिसुतु प्रधानलाई रु. २ लाख ४ हजार प्रदान गरिएको थियो ।
नगरपालिकाले मोहडातर्फ प्रयोग हुने काठ, ईटा र झिंगटी खरिदका लागि अनुदानस्वरूप जम्मा रु. २१ लाख ११ हजार १३४ रुपैयाँ वितरण गरेको जनाएको छ ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति ले नगरपालिकाले आफ्नो मापदण्डअनुसार मौलिक शैलीमा भवन निर्माण गर्नेलाई प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरको परम्परागत कला, संस्कृति र मौलिक वास्तुकलाको संरक्षण गर्दै नगरको पहिचान जोगाउने कार्यलाई नगरपालिकाले निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो ।


















