भक्तपुर, १९ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ भाजु पुखूस्थित दुगुरे फल्चा शनिबार उद्घाटन गर्नुभएको छ । ज्ञानकुञ्ज टोल सुधार समितिको अगुवाइमा स्थानीय जनताको आर्थिक सहयोगमा निर्मित उक्त फल्चा उद्घाटन गर्दै प्रमुख प्रजापतिले नगरवासीहरूमा रहेको आफ्नो ठाउँको विकास आफैले गरौं भने भावनाले नै भक्तपुर आजको अवस्थामा पुगेको बताउनुभयो । आर्थिक र भौतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उहाँले सम्पदाको मौलिकता जोगाउन स्थानीय जनतालाई नै जीर्णोद्धार र पुनः निर्माणको जिम्मेवारी दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।



उहाँले भन्नुभयो, “स्थानीय जनतामा सम्पदाप्रति भावना जोडिएको हुन्छ । मौलिकता जोगाउन स्थानीयहरू दुगुरे फल्चा उद्घाटन निरन्तर लाग्छन् तर ठेक्कामा दिएमा मौलिकताको रक्षा हुनसक्दैन ।” भाजुपोखरी जीर्णोद्धारको प्रसङ्ग उल्लेख गर्दै उहाँले काठमाडौँको रानीपोखरी मौलिक शैलीमा पुनः निर्माणको जिम्मेवारी पनि भाजुपोखरी जीर्णोद्धारकै सिलसिलामा भक्तपुरवासीलाई प्राप्त भएको हो भन्नुभयो । “पारदर्शिताले जनविश्वास प्राप्त हुने हुँदा हामीले गर्ने हरेक कामको आयव्यय सार्वजनिक गर्न आवश्यक छ । पार्टी पुनः निर्माणको लागि भएको खर्च सार्वजनिकीकरण एउटा सराहनीय काम हो”, उहाँले भन्नुभयो ।



भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडामा भइरहेको गतिविधिबारे प्रस्ट पार्नुभयो । ज्ञानगुञ्ज टोल सुधार समितिका अध्यक्ष कृष्णप्रसाद दुमरूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रजापतिले सहयोग गर्ने दाताहरूलाई धन्यवादपत्र तथा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । फल्चा पुनः निर्माणमा ९ लाख ५४ हजार आर्थिक सहयोग प्राप्त भएको र ९ लाख ९५ हजार खर्च भई नपुग ४० हजार रुपैयाँ टोल सुधार समितिले व्यहोरेको तथा बुट्टेदार ठामहरू र इँटाको लागि भक्तपुर नगरपालिकाले सहयोग गरेको विवरण पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।


















