भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा उद्घाटन

0
209


भक्तपुर, पुस २४ ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभाको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले भक्तपुरलाई सफा, सुन्दर र स्वच्छ नगरको रुपमा विकास गर्न नागरिकहरुमा नागरिक भावनाको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुरलाई स्वच्छ नगर बनाउन नगरका सडक, गल्ली र चोकहरु सबै सफा राख्नुपर्छ भन्दै उहाँले भक्तपुर औद्योगिक क्षेत्रका प्रदूषण फाल्ने उद्योगहरुलाई पायक पर्ने ठाउँमा स्थानान्तरण गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणसँगसँगै पर्यटन उद्योगको विकासमा पनि जोड दिनुपर्ने बताउँदै उहाँले भक्तपुरको विकास निर्माणको काम उपभोक्ता मोडलबाटै अगाडि बढाउनु उपयुक्त हुने बताउनुभयो ।
जनताको समस्या सम्बोधन गरी देको मिवा आवास योजनालाई छिटै सम्पन्न गर्नेतर्फ नगरपालिकाले अगाडि बढ्न मार्गनिर्देश गर्दै उहाँले विद्यालय र विश्वविद्यालयहरुलाई उत्पादन श्रमसँग जोड्नु आवश्यक रहेको बताउनुभयो ।
अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण निन्दनीय रहेको बताउँदै सचिव सुवालले अमेरिकाले भेनेजुयलामाथि गरेको साम्राज्यवादी आक्रमणले युन चाटर्ड र अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन भएको बताउनुभयो ।
नयाँ पुस्तालाई नयाँ विचार, सूचना र प्रविधिसँग जोड्दै लानुपर्ने बताउँदै उहाँले विद्यालयमा पाठ्यक्रमअनुसार विद्यालय शिक्षकको बन्दोबस्त गर्नुपर्ने, समय समयमा खाद्य अनुगमन गर्नुपर्ने, सांस्कृतिक नगर बनाउन प्रयास जारी राख्नुपर्ने, सडकहरुमा हरियाली कायम गर्नुपर्ने, युवाहरुलाई कुलतबाट टाढा राख्नुपर्ने र नयाँ पुस्तालाई खेलकुद, संगित, वाद्यवादन, नृत्य, चित्रकलालगायत अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउनुपर्ने बताउनुभयो ।
नगरसभा उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०८२।८३ मा पारित बजेटको आधारमा साउनदेखि पौष २० गतेसम्म भएका कार्यहरुलाई संक्षेपमा प्रस्तुत गर्नुभयो ।
उहाँले ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको यस भक्तपुर नगरपालिकाको नेतृत्वमा बसेर काम गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै जनताको बलियो साथ र सहयोगविना भक्तपुरको यो स्तरको विकास सम्भव नभएको बताउनुभयो ।
उहाँले स्थानीय तहहरु अधिकारसम्पन्न र स्वायत्त भएमात्रै जनताका आवश्यकताहरु छिटो–छरितो पूरा गर्न सकिन्छ भन्ने मान्यताअनुसार भक्तपुर नगरपालिकाले पूर्ण स्वायत्तताको अभ्यास गरिरहेको बताउँदै स्थानीय तहहरुलाई अधिकारसम्पन्न बनाउन समय–समयमा सरकारको ध्यानाकर्षण गरिरहेको बताउनुभयो ।
भक्तपुरलाई पारदर्शी, भ्रष्टाचारमुक्त र सम्पदा संरक्षित तथा पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न कटिबद्ध भएर लागिरहेको बताउँदै उहाँले जनप्रतिनिधि, स्थानीय जनता र राजनैतिक कार्यकर्ताहरुको एकमनको एकतालाई अझ बलियो बनाउनुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक समृद्धि र आधुनिक विकासले भक्तपुरको विकास ‘एकादेशको कथा’ जस्तै बनेकोे छ भन्दै पुराना सम्पदा र नयाँ विकासका प्रयासहरुले आजको भक्तपुर निर्माण भएको बताउनुभयो ।
भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुनु मात्रै विकास होइन भन्दै उहाँले विकासको परिभाषालाई नै पुनःव्याख्या गर्नुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
सांसद गोसाईले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन देशको विकासको निम्ति हो वा विनाश भन्ने विषय अहिले विचारणीय भएको बताउँदै भक्तपुर नगरपालिकाको नियमित प्रकाशनहरु ‘भक्तपुर मासिक’ र ‘ख्वप पौ’ भक्तपुरको विकासको प्रतिबिम्ब हो भन्नुभयो ।
नगरपालिकाले सञ्चालन गरेको जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले नगरपालिकाले प्रावि तहका विद्यालयहरुको सुधारतर्फ पनि ध्यान दिनुपर्ने र विद्यालयहरुका गणित र विज्ञान प्रयोगशालाहरु निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई नमुना नगरको रुपमा अघि बढाउन योगदान पु¥याउनुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्दै जनताको निःस्वार्थपूर्वक सेवा गर्ने अठोटका साथ भक्तपुरका जनप्रतिनिधिहरु अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भक्तपुर नगरपालिकाले प्रगतिउन्मुख काम गरिरहेको बताउँदै देशकै सानो नगरपालिका भएर पनि देशलाई दिशानिर्देश गर्ने उदाहरणीय काम भक्तपुर नगरपालिकाले गरेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले कलेजबाट प्रवाहित सेवा सुविधाबारे अवगत गराउनुभयो भने ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल अस्पतालका सेवा र प्रगतिहरुबारे जानकारी गराउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा.का प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here