वडा नं. ९ मा हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0
251
वडा नं. ९ मा हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


भक्तपुर, पुस १२ ।
भक्तपुर नगरपालिका वडा नं. ९ को आयोजना तथा नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा शनिबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।उक्त शिविरमा स्थानीय बासिन्दासहित सो क्षेत्रमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकले समेत सेवा लिएका थिए । आयोजकका अनुसार शिविरमार्फत १२३ जनाले हाडजोर्नी तथा नशा रोगको निःशुल्क परीक्षण र उपचार सेवा प्राप्त गरेका छन् ।
शिविरको उद्घाटन समारोहमा वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्वस्थ नागरिकले पनि नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको उल्लेख गर्नुभयो । मानव शरीरमा रोगको लक्षण नदेखिन पनि सक्ने र लक्षण देखिँदा उपचारमा ढिलाइ हुन सक्ने भन्दै उहाँले सवारी साधनको नियमित सर्भिसिङ गरेजस्तै शरीरको पनि नियमित जाँच आवश्यक रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले नगरवासीलाई निरोगी र स्वस्थ बनाउन उपचार सेवालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै ख्वप अस्पतालमा अत्याधुनिक सेवा विस्तार भइरहेको जानकारी दिनुभयो । अस्पतालमा चाँडै नै सिटी स्क्यान सेवा शुरु हुने उहाँको भनाइ थियो ।
ख्वप अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. श्रीकृष्ण अवालले बाथ रोग, हाड खिइने तथा नशा च्यापिने रोगका लक्षणहरूबारे सरल भाषामा जानकारी दिनुहुँदै ख्वप अस्पतालका चिकित्सकहरू सधैं बिरामी सेवामा तत्पर रहेको बताउनुभयो । झारफूक र अन्धविश्वासका कारण केही बिरामी अकालमै मृत्यु भएको उल्लेख गर्दै उहाँले विज्ञान र अनुसन्धानले पुष्टि गरेको उपचार विधिमा मात्र विश्वास गर्न आग्रह गर्नुभयो ।
कार्यपालिका सदस्य छोरीमैया सुजखू (प्रजापति) ले रुघाखोकी र ज्वरो जस्ता समस्यालाई हेलचेक्र्याई नगरी समयमै चिकित्सकको सल्लाहमा उपचार गर्न अनुरोध गर्नुभयो । रुघाखोकी र ज्वरो आफैंमा रोग नभई अन्य रोगको लक्षण हुन सक्ने भएकाले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी वडा नर्स अञ्जना सुवाल र महिला स्वास्थ्य स्वयंसेविका मनेश्वरी कोजूले नगरपालिकाले जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याइरहेको जानकारी गराउनुभयो । अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी तथा दुर्घटनामा परेका बिरामीका लागि घरदैलो नर्सिङ सेवा प्रभावकारी बन्दै गएको उहाँहरूले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here