भक्तपुर, ७ पुस । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगोमना स्थित निर्माणाधीन साढे तीन तले घरमा ज्यामी काम गर्दै आएका एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मिति २०८२ पुस ७ गते बिहान करिब ७:२० बजे उक्त निर्माणाधीन घरको भुइँतलामा बस्दै आएका उदयपुर घर भएका अन्दाजी ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकसँगै सोही घरमा ज्यामी काम गर्दै आएका धनकुटा, साँगुरीगढी गाउँपालिका–३ घर भएका अन्दाजी २७ वर्षीय संजिब राईले मिति २०८२ पुस ६ गते राति कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरीले जनाएको छ।
घटनामा संलग्न अभियुक्त संजिब राईलाई सोही दिन बिहान ८:०० बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
1


















