भक्तपुर, मंसिर ९ ।
११ औं उद्योग दिवस–२०८२ को अवसरमा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरले तीनजना उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्दै दत्तात्रयस्थित एक कार्यक्रम सम्पन्न गरेको छ।
समारोहका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जी.के. पोल्ट्री फार्मका शिशिर किसी, गुण सेरामिक्स उद्योगकी गुणकेसरी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामसुन्दर घो श्रेष्ठलाई फुलमाला र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले घरेलु तथा साना उद्योग देशको आर्थिक संरचनामा महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै विदेशी वस्तुको आयातले घरेलु उत्पादन प्रभावित भएको तथ्य उजागर गर्नुभयो। उनले नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आत्मनिर्भरता तथा उद्यमशीलता बढाउने दिशामा निरन्तर काम गरिरहेको बताउनुभयो।
अन्तरिम सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण, शान्तिपूर्ण तथा मर्यादित निर्वाचन र सार्वजनिक संस्थानहरूलाई कम्पनीमा परिणत गर्ने नीतिगत निर्णयका कारण अर्थतन्त्रमा पर्ने दीर्घकालीन प्रभाव पनि उहाँले प्रष्ट पार्नुभयो।
उहाँले घरेलु वस्तुहरूको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारी स्तरमै आवश्यक नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले उद्यमी सम्मानले उद्योगीलाई हौसला मिलने र संघले सञ्चालन गरेको गो लोकल कार्यक्रमअन्तर्गत भक्तपुरका १५ वस्तुलाई सूचिकृत गरी प्रवद्र्धन गरिरहेको जानकारी दिनुभयो।
भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीकुमारी श्रेष्ठले सरकारले स्टार्टअप उद्यम कर्जा तथा महिला उद्यमीका लागि विना धितो कर्जा सुविधा उपलब्ध गराइरहेको बताउँदै उद्योग क्षेत्र राष्ट्रको आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्नुभयो।
भक्तपुर च्याम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले लोपोन्मुख स्थानीय पेशा–व्यवसाय संरक्षण तथा स्थानीय रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका सभापति तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सम्मानित उद्यमीहरुलाई बधाई ज्ञापन गर्दै कार्यालयले उद्यमशीलता अभिवृद्धि गर्न नीति–नियम निर्माण तथा विभिन्न सीपमूलक तालिम सञ्चालनमा ध्यान केन्द्रित गर्दै आएको बताउनुभयो।
कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, व्यवसायी तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।


















