भक्तपुर, मंसिर ७ । भक्तपुर नगरपालिका–१० नं. वडा कार्यालयद्वारा आयोजित वडाभरिको कर्मचारी भेला आइतबार वडाको सभाकक्षमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य तथा वडाध्यक्ष रबिन्द्र ज्याख्वले कर्मचारीलाई कानुन तथा क्षेत्राधिकारभित्र रहि इमानदार, कर्तव्यनिष्ठ र सेवाग्राही–मैत्री भएर काम गर्न निर्देशन दिनुभयो। उहाँले कानुन बाहिर गएर कार्य सञ्चालन गरे अख्तियार दुरुपयोगको जोखिम रहने बताउँदै “जनताको समस्या सहज, छिटो र चुस्त ढंगले समाधान गर्नु कर्मचारीको पहिलो दायित्व हो,” भन्नुभयो।
सामाजिक सञ्जालको प्रसारसँगै सेवाग्राही अधिक प्रविधि–मैत्री भएको उल्लेख गर्दै ज्याख्वले कर्मचारीका अनियमितता वा दुर्व्यवहार तुरुन्तै सार्वजनिक हुने भएकाले सचेत, संयमित र उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो। “कर्मचारीले घरको तनाव कार्यालयमा पोख्न मिल्दैन। व्यवसायिक बन्छु भन्ने हो भने आचरण, धैर्य र व्यावहारिकता देखिनैपर्छ,” उहाँले भन्नुभयो।
नेमकिपाले २०१९ सालदेखि भक्तपुरमा जनताको विश्वास जित्दै निरन्तर सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै ज्याख्वले पार्टीको उद्देश्य जनसेवा मात्रै रहेको दाबी गर्नुभयो। उहाँले ‘देको मिवा इतापाके आवास योजना’ बारे केही समूहले गलत प्रचार गरिरहेको भन्दै तथ्यसहित जानकारी सभामार्फत अघि बढाइरहेको जानकारी दिनुभयो।
देशमा जेन्जी आन्दोलनपछि कमजोर सरकार बनेको र त्यसका कारण अराजकता बढिरहेको उल्लेख गर्दै उहाँले “यस्ता अवस्थामा कार्यालय तथा स्थानीय संघ–संस्थामा हानी–नोक्सानी पुर्याउन सक्ने गतिविधि बढ्न सक्छ, त्यसैले कर्मचारीले आफ्नो कार्यालयको संरक्षणमा भूमिका खेल्नुपर्छ,” भन्नुभयो। कर्मचारीमाथि कसैले दुर्व्यवहार गरे कानुनी प्रक्रिया अनुसार प्रतिकार गर्नुपर्ने पनि उहाँको भनाइ थियो।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, वडासदस्य जितेन्द्र मुनाकर्मी र कृष्णनारायण दुमरुले पनि सुझावसहित सम्बोधन गर्नुभएको थियो।

















