भक्तपुर, — भक्तपुर जिल्लामा नव नियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्री उमेशकुमार ढकाललाई उद्योगी तथा व्यवसायी समुदायले स्वागत गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रजिअ ढकालले देशका विभिन्न स्थानमा रहेर १३ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै आफू जहाँ पुगे पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिने परम्परा रहेको बताए। सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक पहिचान बोकेको भक्तपुरमा पदभार ग्रहण गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले यहाँका लघु, घरेलु तथा साना उद्योगका उत्पादन प्रवर्द्धनमा साथ–सहयोग रहने प्रतिवद्धता व्यक्त गरे।
उनले आफ्नो कार्यकक्षमै स्थानीय उत्पादनलाई प्राथमिकता दिने प्रचलन रहेको उल्लेख गर्दै, “मेला–महोत्सवमा मनोरञ्जनका साधनभन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ,” भन्दै समाजलाई अगाडि बढाउन घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण हुने बताए। ढकालले उद्यमीहरूलाई निर्धक्क भई उद्योग सञ्चालन गर्न आग्रह पनि गरे।
कार्यक्रममा पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले स्थानीय उत्पादनप्रति स्थानीय तहको अपनत्व आवश्यक रहेको बताउँदै स्थानीय उत्पादनकै महत्व स्थानीयले राम्रोसँग बुझ्ने भएकाले स्थानीय सरकार संवेदनशील हुनुपर्ने धारणा राखे।
त्यसैगरी अर्का पूर्व अध्यक्ष सत्यनारायण प्रजापतिले २०७८ सालमा महासंघको महाधिवेशनका क्रममा तत्कालीन वीरगञ्जका प्रमुख जिल्ला अधिकारीको हैसियतमा ढकालले पुर्याएको सहयोग स्मरण गर्दै धन्यवाद व्यक्त गरे।
उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग विगतदेखि सहकार्य गर्दै विभिन्न तालिम, मेला तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराए।
कार्यक्रममा ‘गो लोकल’ अभियानका संयोजक बिरेन्द्र जतिाले अभियानको औचित्यमाथि प्रकाश पारे भने निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले जिल्ला प्रशासन कार्यालयले साना उद्यमीहरूलाई विगतमा गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग मिल्ने अपेक्षा व्यक्त गरे।
संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मण ग्वाछा, उपाध्यक्ष हरिगोपाल त्वायना तथा सचिव श्रीजना कक्षपतिले संघका गतिविधि र योगदानबारे आफ्ना धारणा व्यक्त गरेका थिए।


















