भक्तपुर, कार्तिक ८ — प्रगति पुस्तकालयको आयोजनामा सञ्चालित ३ महिने आधारभूत चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ।
कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष दिपेन्द्र प्रजापतिले पुस्तकालयको निरन्तर क्रियाशीलता र योगदानको प्रशंसा गर्दै भने, “भक्तपुरमा धेरै पुस्तकालय बन्द अवस्थामा छन्, तर प्रगती पुस्तकालय निरन्तर सक्रिय रहनु गर्वको विषय हो।” उनले चित्रकलाको महत्वबारे उल्लेख गर्दै भने, “चित्रकला विशेष र अपरिहार्य दुवै हुन्छ। कलामा तैरिनु हुँदैन, डुब्न जान्नुपर्छ। चित्रकारहरू सामान्य हुँदैनन्, उनीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त गर्न सक्छन्।” साथै उनले तालिममा सहभागी हुनका लागि इच्छाशक्ति र मेहनत आवश्यक हुने बताएका थिए।
प्रगति पुस्तकालयका अध्यक्ष रविन्द्र प्रसाद कुसीले ३ महिने तालिमलाई सुरुवातको चरणका रूपमा उल्लेख गर्दै अभिभावकहरूको माया र साथकै कारण तालिम सफल भएको बताए। उनले भने, “अभिभावकहरूलाई समय व्यवस्थापन गर्न चुनौती थियो, तर सबैको सहकार्यले कार्यक्रम सफल भयो।” उनले पुस्तकालयले निरन्तर सिर्जनात्मक र शैक्षिक क्रियाकलापमा योगदान दिंदै आएको बताए।
अतिथि नेमकिपा प्रास सुर्यमढीका मिलन गणेजुले कलाको महत्वप्रति जोड दिँदै भने, “कला भनेको केवल चित्र होइन, प्रस्तुती हो — राम्रो गर्नका लागि निरन्तर मेहनत र अभ्यास गर्न आवश्यक छ।”
तालिमका प्रशिक्षक विकास तमखुले सहभागीहरूलाई अझ अभ्यासमा जोड दिन सुझाव दिएका थिए। उनले भने, “आधारभूत सीपलाई निखार्न निरन्तर अभ्यास र समय व्यवस्थापन आवश्यक छ। चित्रकलाले धैर्य सिकाउँछ र घरघरमा फुर्सदको सदुपयोग गर्न मद्दत पुर्याउँछ।” उनले आर्ट टिचिङ क्षेत्र अहिले सम्भावनायुक्त पेशा बन्दै गएको पनि बताए।
कार्यक्रममा युनिश मचामसीले प्रशिक्षार्थीको अनुभव सुनाए भने प्रज्ञा कर्माचार्यले अभिभावकको तर्फबाट मन्तव्य दिइन्। साथै विकल्प प्रजापति र राजश्री कुसीले कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष जयराम कोजु र सचिव श्रीराम कासिछ्वाले पनि बोल्नुभएको थियो ।


















