भक्तपुर, ३० भदौ ।
४५औं नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्दै प्रदेश सांसद एवं नेमकिपा नेता सुरेन्द्रराज गोसाईले विद्यार्थीको शिक्षाको मापन मात्र परीक्षाबाट नभई व्यवहारिक सीप र सामाजिक गतिविधिमा सहभागिताबाट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीहरू मानसिक, शारीरिक र नैतिक रूपमा बलियो बन्नुपर्ने उल्लेख गर्दै सामाजिक कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुनुपर्ने सुझाव दिनुभयो । परीक्षाको तीन घण्टाले मात्र ज्ञानको स्तर नाप्न नसक्ने भएकाले व्यवहारमै लागू हुने खालको शिक्षा आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले समाजपरक सोच विकसित गर्न विद्यार्थीहरूले सांस्कृतिक, राजनीतिक र सामाजिक क्रियाकलापमा पनि सहभागी हुनुपर्ने धारणा राख्नुभयो । नेमकिपा भ्रष्टाचार विरोधी अभियान निरन्तर चलाउँदै आएको स्मरण गर्दै उहाँले छोटो अवधिका आन्दोलनले तात्विक परिवर्तन नल्याउने र त्यसका लागि दीर्घकालीन विचार र राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो ।
४५औं नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष तथा कार्यक्रमका सभापति रविन्द्र खर्बुजाले सम्पूर्ण टोल तथा वडाबासीहरुमा कार्यक्रम सफलपार्न आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि अपिल गर्दै विद्यार्थीहरुबाट सांस्कृतिक तथा साहित्यिक गतिविधिहरु हुने अपेक्षा गर्नुभयो । नेमकिपाले भ्रष्टाचार विरोधी अभियान २०२२ सालदेखि नै बर्षेनी चलाउदै आएको र अध्यक्ष नारायणमान बिजुक्छें रोहितले तात्कालिन समयमा खुल्लामञ्चमा सबै नेताहरुलाई बेइमान गर्ने ठाउ“ नपाएर मात्र इमान्दार भइरहेको आक्षेप लगाएको स्मरण गर्नुभयो । असल विद्यार्थी तथा सन्तानले आफ्नो बाहिरी गतिविधिहरुको जानकारी परिवारलाई दिने र छलफल गरी अगाडी बढाउनु पर्ने बताउनु भयो । तःमुंज्या खुल्ला विश्वविद्यालय भएकोले सम्पूर्ण विद्यार्थीहरुले लाभांवित हुन अपिल गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका भक्तपुर जिल्ला समितिका सचिव सुजी ह्योगजुले नेक्राविसंघ नेमकिपाको वर्गीय संगठन भएकोले देशभक्त र भ्रष्टाचार विरुद्ध संघर्षरत रहेको बताउनु भयो । जेन जि समुहले छोटो समयमा निश्चित उमेर समुहका जनताको सहभागीतामा आन्दोलन गरेपनि कुनै सैद्धान्तिक एवं राजनीतिक ज्ञान नहुदा बलिदानीमा तुगिने बताउनु भयो । क्षणिक रहरको क्रान्तिले तात्विक असर नहुने भएकोले क्रान्तिको वातावरण तयार गर्न विद्यालयस्तरमै असल राजनीतिक कक्षाहरु संचालन गर्नुपर्ने बताउनु भयो ।
ग्वसाखलका सचिव राजन जतिले तःमुंज्या सफल पार्न हालसम्म गरेका विभिन्न गतिविधिहरुबारे जानकारी दिनुभएको कार्यक्रममा सदस्य अजेन्द्र कुमार लघु, रमा मातां र रेजा जतिले पनि बोल्नु भएको थियो ।


















