भक्तपुर, भाद्र २७ ।
४५औं नेपाल भाषा साहित्य तःमुंज्या सफल पार्न आयोजक समितिको आयोजनामा तयारी बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र राज गोसाइँले देशमा बढ्दो भ्रष्टाचार र राष्ट्रियताको क्षीण अवस्थाको जिम्मेवारी प्रमुख दल नेपाली काँग्रेस, एमाले र माओवादीलाई रहेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई राजनीतिक तथा सैद्धान्तिक प्रशिक्षण नदिँदा आजको अवस्था आएको भन्दै शिक्षकहरूले पाठ्यक्रमसँगै राजनीतिक चेतना पनि दिनुपर्ने धारणा राख्नुभयो । नेमकिपाको राजनीतिक लाइन बर्तमान सन्दर्भमा सही रहेको उल्लेख गर्दै उहाँले पहिलो र दोस्रो पार्टीले सरकार चलाउने प्रवृत्तिले प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभयो ।
साथै, उहाँले विगतका जनआन्दोलनमा भारतको स्वार्थ र हस्तक्षेपबारे पनि प्रष्ट पार्दै नदीनाला कब्जा गर्ने र नेपालभित्र अस्थिरता सिर्जना गरी आफ्नो पक्षको सरकार बनाउन खोज्ने नीति रहेको दाबी गर्नुभयो । जेन्जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र अन्य संरचना जलाइए पनि त्यसको प्रत्यक्ष फाइदा भारतलाई पुगेको र अमेरिकाले निर्माण गरेका भवनहरू सुरक्षित रहनुले चीनलाई पनि चुनौती दिने उद्देश्य लुकेको बताउनुभयो ।
बैठकमा ४५औं नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष रविन्द्र खर्बुजाको सभापतित्वमा भक्तपुर नगरपालिका–२ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले विगतका सरकारले भ्रष्टाचारमा डुबेको र मजदुर–किसानका हितमा ठोस काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
यस्तै, तःमुंज्याका उपाध्यक्ष श्यामसुन्दर मातां र सचिव राजन जतिले आगामी कार्यक्रमका तयारीबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो ।


















