भक्तपुर, असार ३२ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको भेला कार्यक्रम बुधबार सम्पन्न भयो ।
भेलामा बोल्दै नगर प्रमुख प्रजापतिले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका कार्यक्रम विशुद्ध स्वयम्सेवी कार्यक्रम भएको बताउँदै जनताको घरदैलो पुगेर जनतालाई स्वास्थ्यबारे सचेतना फैलाउने काममा महिला स्वयम्सेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आर्थिक वर्ष २०८१।८२ मा ७४ जिल्लाका २ लाख ८० हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको बताउँदै उहाँले भक्तपुर नपाले सञ्चालन गरेको घरदैलो नर्सिङ सेवा अन्य स्थानीय तहहरुको पनि अनुकरणीय रहेको बताउनुभयो ।
लागू आषैध प्रोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढिरहेको बताउँदै उहाँले महिला स्वास्थ्य स्वयम्सेविकाह्रले लागु औषधको दुव्र्यसन तथा अवैध ओसारप्रसारबारे विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य स्वयम्सेविकाहरुलाई आगामी दिनहरुमा अझ क्रियाशील भई जनताको सेवा गर्न प्रेरित गर्दै उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतको क्षेत्रमा अरुले भन्दा फरक ढंगले काम गर्ने उद्देश्यले जनमुखी कार्यहरुमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्ययक्ष रविन्द्र ज्याख्वले स्वास्थ्य स्वयम्सेविकाहरुले आफ्नो कामको व्यवस्थित अभिलेखीकरणमा जोड दिन आग्रह गर्दै सरकारले स्थानीय तहमा प्रथम सेवा विन्दु कायम गरेको अस्पतालहरुको विषयमा नगरबासीहरुलाई स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले आ.व. २०८२।८३ को भावी योजनाहरुबारे प्रष्ट पार्दै पूर्ण खोप र आमा सुरक्षा कार्यक्रमबारे व्यवस्थित रुपमा प्रचारप्रसार गर्न स्वयम्सेविकाहरुलाई मार्गनिर्देश गर्नुभयो ।
उक्त कार्यक्रममा हेल्थ असिसटेन्ट कमलकेशरी शिल्पकारले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले पालना गर्नुपर्ने नीति नियमहरुबारे प्रष्ट पार्नुभयो ।