जन्मदर्ताको प्रमाणपत्रको आधिकारिकता सम्बन्धमा स्पष्टता

0
311

काठमाडौं, असार २८ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै जन्मदर्ता प्रमाणपत्रको आधिकारिकता सम्बन्धमा स्पष्ट जानकारी दिएको छ। विभागका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७७ को अनुसूची २० मा तोकिएको ढाँचामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली (VERSP-MIS) मार्फत जन्मदर्ता प्रमाणपत्र जारी हुँदै आएको छ।

उक्त प्रमाणपत्रमा प्रणालीले स्वचालित रूपमा तयार गर्ने तेह्र अंकको दर्ता नम्बर (Registration No.) रहने व्यवस्था छ। विभागले स्पष्ट पारे अनुसार यो नम्बर सामान्यतः सम्बन्धित व्यक्तिको जन्म मिति अनुसार मेल खाने गरे पनि कहिलेकाहीं फरक अंक आउन सक्नेछ। यद्यपि, फरक आए पनि स्वचालित रुपमा प्रणालीले नै निर्धारण गरेको उक्त नम्बर आधिकारिक हुने विभागले जनाएको छ।

हालै विभिन्न मुलुक, विशेषगरी पोर्चुगलस्थित नेपाली दूतावासले जन्ममिति अनुरूप नम्बर नहुँदा प्रमाणपत्र मान्यता नदिएको गुनासो आएपछि विभागले यस विषयमा कन्सुलर सेवा विभाग र परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मुलुकहरुलाई औपचारिक जानकारी गराउन अनुरोध गरेको छ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ र नियमावली, २०७७ बमोजिम प्रणालीले निर्धारण गरेको दर्ता नम्बर नै आधिकारिक हुने हुँदा यसमा अन्यथा नहेर्न अनुरोध गरिएको छ। साथै, स्थानीय तह र कन्सुलर सेवा विभागले VERSP-MIS प्रणालीमा भएको अभिलेख जाँच गरी प्रमाणिकरण गरेपछि सो प्रमाणपत्र वैधानिक र विश्वसनीय हुने जानकारी दिइएको छ।

यस स्पष्टतापछि नेपाली नागरिकले विदेशमा अध्ययन, रोजगारी तथा अन्य प्रयोजनका लागि जन्मदर्ता प्रमाणपत्रको मान्यता नपाउने समस्याबाट सहज हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here