भक्तपुर, जेठ ३० । भक्तपुर सुनचाँदी ब्यवसायी संघले सुन र सुनका गहनामा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य रत्न पत्थर गहनामा लागु गरिएको १३ प्रतिशत मूल्य अभिबृध्दि (भ्याट) तत्काल खारेज गर्न माग गरेको छ ।
संघले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारले आर्थिक बर्ष २०८२/०८३ को लागि प्रस्तुत गरिएको बजेटमा सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरलाई विलासिता बस्तुको रुपमा जोडेर थप असहज ब्यवस्था गरिएको र यसले सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थर ब्यवसायी देखि आम उपभोक्तासम्मलाई थप करको मारपर्ने भएको हुनाले विलासी कर २ प्रतिशत र बहुमूल्य रत्न पत्थर गहनामा १३ प्रतिशत मूल्य अभिबृध्दि (भ्याट) लागू गर्ने निर्णय कुनै पनि हालतमा सान्दर्भिक नभएको जनाइएको छ ।
नेपाल आर्थिक मन्दी को चपेतामा परेको समय सबै ब्यवसाय धरासायी भईरहेको र नेपाली जनताहरुको आयस्तर भन्दा धेरै माथि सुनको भाउ बढेको अबस्थामा थप कर लगाउने नहुने ज्ञापनपत्रमा उल्लेख छ ।