Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home समाचार चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको पहिलो राष्ट्रपति डा. यादवकाे...

चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको पहिलो राष्ट्रपति डा. यादवकाे भनाइ

भक्तपुर, जेठ १९

नेपाल रिपब्लिक मिडियाको आयोजनामा ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रम सोमबार भक्तपुरको दरबार क्षेत्रमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनालाई जनतालाई स्वतन्त्र नागरिक बनाइदिएको दिनको रुपमा स्मरण गर्दै गणतन्त्रवादीहरु आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।

चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताउँदै उहाँले यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेसको जनजीवन अझै संकटग्रस्त हुने बताउनुभयो ।

युवाहरुको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित नेपाल रिपब्लिक मिडियाको आयोजनामा भएको ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रमले देशका युवाहरुलाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘म नागरिक म बनाउँछु नेपाल’ शीर्षकमा छोटो भिडियो निर्माण गरेर देश र समाजलाई सकारात्मक सन्देश दिने कोसिस भएको बताउँदै नेपाल विदेशीहरु आएको बनाउने नभई हामी नेपालीहरुले नै बनाउने हो भन्नुभयो ।

आर्थिक रुपमा स्वतन्त्र नभएको देश राजनीतिक रुपमा स्वतन्त्र नहुने बताउँदै प्रमुख प्रजापतिले युवाहरुसँग भएका ज्ञान, सीप र विशेषज्ञता देश र समाजको लागि प्रयोग गर्न प्रेरित गर्नुभयो ।

हरेक नागरिकले आफ्नो ठाउँ आफै बनाउने प्रण गरे देश छिटै विकास हुने धारणा राख्दै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षणमा संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका निर्देशक समृद्धि ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुभएको थियो भने नागरिक पत्रिकाका प्रधानसम्पादक गुणराज लुइँटेलले यो कार्यक्रमको महत्वबारे प्रष्ट पार्दै कार्यक्रमले युवाहरुमा उत्साह थपेको र समाजमा यसले सकारात्मक सन्देश प्रवाह गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक छोटो भिडियो निर्माण गर्नेमध्ये प्रथम, द्धितीय र तृतीय हुनेलाई डा. रामवरण यादवले नगदसहितको पुरस्कार प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments