भक्तपुर, चैत २४ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा नव वर्ष २०८२ तथा बिस्का जात्राको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भितेपात्रो बिमोचन कार्यक्रम बागमति प्रदेश सभासद माननीय सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले घरेलु तथा साना उद्योगको हक तथा हितको लागि प्रदेश सभामा आवाज उत्थान गर्दै आइरहेको जानकारी दिनुहुदै उहाँले नगरकोट भ्रमण वर्ष २०८२ सफल बनाउन भक्तपुरका स्थानीय उत्पादनहरु व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो । विश्व बजारमा नेपाली घरेलु उत्पादनका सामग्री बिक्रीवितरणमा चुनौतिको रुपमा रहेको बताउनुहुँदै होमस्टेको विकास गर्नुपर्ने बताउनुभयो ।
साथै उहाँले स्थानीय उत्पादनको रुपमा रहेको रक्सी (ऐला)ब्राण्डिङ गर्न कानुनी समस्या रहेको समेत बताउनुभयो ।

विशेष अतिथि उद्योग तथा बाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्यमीलाई सीप विकास गर्ने उद्देश्यले कार्यालय स्थापित भएको जानकारी दिनुहुदै सीप भएमा स्वरोजगार बन्न सकिने बताउनुभयो ।

संघका संस्थापक सदस्य, पुर्व अध्यक्ष एव महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले संघले प्रविधी हस्तान्तरण, व्यवसाय दर्ता तथा परामर्श साथै करको दायरा सम्बन्धमा सदस्यहरूलाई जानकारी दिदै आइरहेको बताउनुभयो ।
उहाँले कोसेली घर निर्माण गर्नुपर्ने कुरामा समेत विशेष जोड दिनुभयो ।

साथै अर्का अतिथि रिता अवालले सूचना प्रवाहको लागि प्रदेशस्तरीय उद्यमी सहजीकरण केन्द्र निर्माण गर्नुपर्ने, स्वदेशी वस्तु प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

अतिथि संघका पुर्व अध्यक्ष एव गो लोकल कार्यक्रमका संयोजक विरेन्द्र जतिले भक्तपुरको मौलिक उत्पादन पर्यटनसग जोड्ने हेतुले गो लोकल कार्यक्रम संचालन गर्दै आइरहेको र बागमती प्रदेशमा घरेलु शब्द हटाउने प्रपञ्च भैरहेकोले यसलाई पुनः सोचविचार गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर घरेलु साकोसका अध्यक्ष एव संघका पुर्व अध्यक्ष लक्ष्मण ग्वाछाले नेवार समुदायमा पात्रोम हरेक वर्ष अन्यौल हुने गरेकोले यसलाई समस्या समाधान र भितेपात्रो प्रकाशन गर्दा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि निवर्तमान अध्यक्ष प्रेमकृष्ण खर्बुजाले व्यवसायीको हक हितको लागि संघले काम गर्दै आइरहेको बताउनुहुदै go local कार्यक्रमको लागि बजेट व्यवस्थापन गर्नुपर्ने जोड दिनुभयो । साथै तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

संघका अध्यक्ष एवं कार्यक्रमका सभापति श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले देश विकासको मेरुदण्डको रुपमा घरेलु तथा साना उद्योग रहेको बताउनुभयो ।
कार्यक्रममा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजा र संघका सह सचिव श्रीजना कक्षपतिले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक, भक्तपुरको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा हुने १ महिने अतिथि सत्कार तालिम २०८१/१२/२४ गते देखि हुने समेत आयोजक समितिले जनाएको छ । उक्त कार्यक्रममा तालिमका प्रशिक्षक रविका बासुकलालाई प्रमुख अतिथिले तालिमका सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।


















