३ महिने सीप विकास तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

0
131


भक्तपुर । २०८० असार १७ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युवा जनशक्ति विदेशिने क्रम बढेसँगै नेपालमा दक्ष जनशक्तिको अभाव बढ्दो रहेको बताउँदै सरकारले युवाहरुलाई नेपालमै बस्ने वातावरण नबनाएसम्म युवाहरु विदेशिने क्रम चालु रहने बताउनुभयो ।
डिभिजन वन कार्यालय भक्तपुरको आयोजनामा वन पैदावारमा आधारित फर्निसिङ एण्ड फिटिङ दक्ष जनशक्तिका लागि ९० कार्यदिने सीप विकास तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफूमा सीमित नराखी व्यवहारिक जीवनमा प्रयोगमा ल्याई देश र समाजको हित हुने काम गर्न प्रेरित गर्नुभयो ।
संघ र प्रदेशले योजना र बजेटको नाउँमा भक्तपुरका जनप्रतिनिधिहरुलाई झुकाउने कोसिस गरिरहेको बताउँदै उहाँले भक्तपुरप्रति संघ र प्रदेश सरकारको पक्षपात र पूर्वाग्रहलाई भनपाका जनप्रतिनिधिहरुले अझ बढी जनताको सेवामा काम गर्ने बताउनुभयो ।
भक्तपुर नपाले विदेशी सहायता र अनुदानलाई भन्दा पनि आत्मनिर्भरतालाई जोड दिई भक्तपुरको विकास गरिरहेको बताउँदै उहाँले बेरोजगारीको समस्या हटाउन यस्ता सीपमूलक तालिमहरुको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रजिअ खगेन्द्रप्रसाद रिजालले मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई भक्तपुर नपाले दिँदै आएको अनुदान सराहनीय कार्य भएको बताउनुभयो ।
निर्माण कार्यमा प्रयोग हुने काठ अभाव हुँदा विदेशबाट आयात हुने काठ र त्यसको विकल्पमा अन्य वस्तुहरु प्रयोग बढ्दै जानु चिन्ताजनक रहेको बताउँदै उहाँले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने ढंगले सीपमूलक तालिमहरु सञ्चालनमा ल्याइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय भक्तपुरका नि. वन अधिकृत प्रेमप्रसाद सापकोटाले तालिम सञ्चालनले धेरै युवा र महिलाहरु लाभान्वित भएको बताउँदै आगामी दिनहरुमा पनि यस्ता तालिमहरुलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
कार्यक्रममा तालिमका व्यवस्थापक राजेन्द्रप्रसाद प्रजापति, वन पैदावार उद्योग महासंघ उपत्यका विशेष अध्यक्ष राजकुमार मल्ल, व्यवस्थापक विष्णुभक्त कुसी, वन पैदावार महासंघ भक्तपुरका अध्यक्ष अनिल सिवाकोटीले पनि तालिम सफलतापूर्वक सम्पन्न भएको र यस्ता सीपमूलक तालिमलाई निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले ४० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here